
काठमाडौं, चैत ४ । ब्राजिलकी राष्ट्रपति डिल्ला रुसेफले पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई आफ्नो मुख्य प्रशासक नियुक्त गरेलगत्तै व्यापक विरोध प्रदर्शन भएको छ ।
राजधानी ब्रासिलियामा राष्ट्रपति भवनबाहिर जम्मा भएका प्रदर्शनकारीलाई दंगा प्रहरीले तितरबितर पारेको छ । अरु सहरमा पनि विपक्षीले प्रदर्शन गरेका छन् ।
रुसेफका पूर्ववर्ती लुलामाथि अहिले ठूलो भ्रष्टाचारकान्डबारे अनुसन्धान भैरहेको छ । छानबिनमा संलग्न संघीय न्यायाधीशले लुलाको गिरफतारीलाई रोक्न रुसेफले उनलाई मुख्य प्रशासकमा नियुक्त गरेको आरोप लगाएका छन् ।
महाअभियोग प्रक्रियाको सामना गरिरहेकी राष्ट्रपति रुसेफले भने लुलाको नियुक्तिले उनलाई अनुसन्धानबाट बचाउन नसक्ने बताएकी छन् । लुलाले सन् २०१० मा रुसेफलाई आफ्नो उत्तराधिकारी चयन गरेका थिए ।
रुसेफलाई पनि भ्रष्टाचारकान्डमा मुछिएको भन्दै विपक्षीहरुले पद त्याग गर्न दबाब दिइरहेका छन् ।
गत हप्ता लुलाविरुद्ध कालोधन वैध बनाएको अभियोगमा पक्राउ गर्न सरकारी अभियोजनकर्ताहरुले आग्रह गरेका थिए ।
तर, लुलाले आफूले कुनैपनि गलत कार्य नगरेको भन्दैै सरकारी अभियोजनकर्ताको दाबीलाई राजनीतिक प्रेरित भनेका छन् ।
पछिल्ला अभियोगहरू, राज्य नियन्त्रित तेल कम्पनी पेट्रोब्रासमा भएको भनिएको एउटा ठूलो घोटालाको अनुसन्धानको हिस्सा भएको बताइएको छ ।
लुला र उनकी श्रीमतीलाई एउटा रिसोर्टमा उनीहरूको स्वामित्वमा रहेको भनिएको विलासी पेन्टहाउसबारे सोधपुछ गरिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्