
मुम्बई, चैत ४ । बलिउड नायक ऋतिक रोशन र नायिका कंगना रनौतबीच कानुनी लडाई सुरु भएको छ । केही दिनदेखि ‘वाकयुद्ध’ गर्दै आएका यी दुई हस्ती अब कानुनी लडाईमा अघि सरेका छन् ।
ऋतिकले कंगनाको नाममा मानहानि नोटिस पठाउँदै सात दिनभित्र माफी माग्न वा मुद्दा झेल्न तयार रहन चेतावनी दिएका थिए । जवाफमा कंगनाले पनि कानुनी नोटिस पठाउँदै ऋतिकलाई आफ्नो नोटिस फिर्ता लिन वा आपराधिक मुद्दा झेल्न तयार रहन चेतावनी दिएकी छन् ।
ऋतिक र कंगनाले ‘काइट्स’ र ‘कृष–३’ मा एकसाथ काम गरेका थिए । पत्नीसँग सम्बन्ध गरिसकेका ऋतिकको नाम पछिल्लो समय कंगनासँग जोडिदैं आएको थियो । तर दुबैले आपसको सम्बन्धबारे केही बताएका थिएनन् ।
अंग्रेजी अखबार ‘मिड डे’ मा प्रकाशित एक समाचार अनुसार ऋतिकले आफ्नो वकिल दिपेश मेहतामार्फत सोमबार कंगनालाई नोटिस पठाएका थिए । जवाफमा कंगनाले पनि आफ्नो वकिल रिजवान सिद्दीकीमार्फत मंगलबार २१ पृष्ठ लामो नोटिस पठाएकी छन् ।
यस्तो छ विवादको कारण
गत जनवरीमा कंगनाले एक वेभसाईटमा अन्तरवार्ता दिएपछि यी दुईबीच विवाद सुरु भएको हो । अन्तरवार्तामा कंगनाले सस्तो लोकप्रियताका लागि केहीले आफ्नो नाम प्रयोग गरिरहेको आरोप लगाएकी थिइन् । कंगनाले सो अन्तरवार्तामा ऋतिकलाई संकेत गरेको ठहर गर्दै मिडियामा यसको व्यापक चर्चा भयो ।
केही समय पछि ऋतिकले पनि कंगनाको नाम नलिइकन ट्वीटरमार्फत जवाफ दिएका थिए ।
भनिन्छ, ऋतिक र उनकी पत्नी सुजैनबीच सम्बन्ध बिच्छेद हुनुमा पनि कंगनाकै भूमिका थियो । स्रोतका अनुसार सुजैनलाई ऋतिक र कंगनाबीचको निकटतामा आपत्ति थियो । तर पछि ‘आशिकी–३’मा कथित रुपमा कंगनालाई नराखिनुमा ऋतिककै मूख्य भूमिका रहेको चर्चा चलेपछि यी दुईबीच अविश्वास बढेको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्