१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


‘पाँच स्थानमा औद्योगिक क्षेत्र स्थापना गर्न जग्गा प्राप्ती, स्वदेशी उत्पादनलाई प्राथमिकता’


0
Shares

काठमाडौं, चैत ३ । देशका विभिन्न पाँच स्थानमा औद्योगिक क्षेत्र स्थापनार्थ जग्गाको व्यवस्थापन भएको उद्योग मन्त्रालयले जनाएको छ ।

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बुधबार पत्रकार सम्मेलन गरी पाँचओटा स्थानमा औद्योगिक क्षेत्र स्थापना गर्न मन्त्रिपरिषदबाट स्वीकृति प्राप्त भएको र जग्गा उपलब्ध भएको जानकारी गराएका हुन् ।

औद्योगिक क्षेत्र स्थापनाका लागि झापाको दमकमा ५ सय बिगाहा, मकवानपुरको हेटौंडामा ३ सय बिगाहा, रुपन्देही जिल्लामा हाल बुटवल उपमहानगरपालिकाको ८ सय १३ बिगाहा जग्गा व्यवस्थापन भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, बाँकेको नौबस्ता गाविसमा ५ सय २५ बिगाहा र कन्चनपुरमा ९ सय बिगाहा जग्गाको व्यवस्थापन भएको जनाइएको छ । मन्त्री पाण्डेले ४० वर्षपछि थप औद्योगिक क्षेत्र स्थापना हुन लागेको बताए ।

हाल मुलुकभर ११ ओटा औद्योगिक क्षेत्र सन्चालनमा छन् । प्रत्येक प्रदेशमा १÷१ हजार बिगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना उद्योग मन्त्रालयको छ ।

दुई वर्षभित्र केही स्थानमा औद्योगिक क्षेत्र सन्चालनमा आउने दाबी मन्त्री पाण्डेले गरे । उनले औद्योगिक क्षेत्रमा स्वदेशी उद्योगलाई प्राथमिकता दिइने बताए ।

औद्योगिक क्षेत्रमा साना, मझौला र ठूला उद्योग रहने उनले उल्लेख गरे ।

नयाँ औद्योगिक क्षेत्र स्थापनापछि १० लाखले प्रत्यक्ष र ३० लाखले अप्रत्यक्ष रोजगारी पाउने विश्वास उद्योग मन्त्रालयको छ ।

मन्त्री पाण्डेले सबै जग्गा सरकारी भएको र त्यस क्षेत्रमा कुनै अवरोध नभएको बताए ।