१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


उपभोक्ता मुद्रास्फीति केही घट्यो, आर्थिक परिदृश्य पनि सुधारोन्मुख


0
Shares

काठमाडौं, चैत ३ । भन्सार बिन्दूहरुको अवरोध सहज हुँदै गएबाट इन्धनलगायत उपभोग्य वस्तुहरुको आपूर्ति सामान्यीकरण हुँदै गएकोले मूल्यबृद्धिदरमा सुधार हुन थालेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघसम्मको आर्थिक स्थितिमा आर्थिक परिदृश्य पनि केही सुधारोन्मुख देखिएको जनाएको हो ।

२०७२ पुस महिनामा मूल्यबृद्धिदर १२.१ प्रतिशत पुगेकोमा २०७२ माघमा ११.३ प्रतिशतमा झरेको छ ।

तराई क्षेत्रका नाकाहरुमा आवागमन सहज हुँदै गएबाट विगत केही महिनादेखि देखिएको मूल्यबृद्धिको दबाब क्रमशः कम हुँदै जाने अपेक्षा गरिएको छ ।

माघ महिनामा कुल वस्तु निर्यात् २७.१ प्रतिशतले ह्रास आइ रु. ३६ अर्ब ६० करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ५.१ प्रतिशतले ह्रास आएको थियो ।

समीक्षा अवधिमा कुल वस्तु आयात् २१.६ प्रतिशतले घटेर रु. ३४५ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात् १२.४ प्रतिशतले बृद्धि भएको थियो ।

नाकाहरुमा पारवहन सहज भएकाले अघिल्लो महिनाको तुलनामा २०७२ माघ महिनामा कुल वस्तु आयात् ६.४ प्रतिशतले बढेर रु. ६८ अर्ब ४ करोड पुगेको छ । अघिल्लो महिना यस्तो आयात् रु. ६३ अर्ब ९६ करोड रहेको थियो ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा २०.९ प्रतिशतले घटी रु. ३०९ अर्ब २३ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १५.१ प्रतिशतले बढेकोे थियो ।

समीक्षा अवधिमा पूँजीगत खर्चमा २.७ प्रतिशतले ह्रास आइ १७ अर्ब ४५ करोडमा सीमित भएकोे छ ।

इन्धन एवम् निर्माण सामग्रीको अभावका कारण कतिपय महत्वपूर्ण आयोजनाहरु अवरुद्ध भएका तथा भूकम्पपछिको पुनःनिर्माणको कार्यसमेत प्रभावित भएका कारण पूँजीगत खर्च घट्न गएको हो । अघिल्लो वर्षको यसै अवधिमा पूँजीगत खर्च ३६.७ प्रतिशतले बृद्धि भएकोे थियो ।

समीक्षा अवधिमा भएको पूँजीगत खर्च बजेट अनुमान रु. २०८ अर्ब ८८ करोडको ८.४ प्रतिशत मात्र हुन आउने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

समग्रमा अन्तर्राष्ट्रिय बजारमा कच्चातेल तथा धातुजन्य पदार्थको मूल्यमा कमी आउनुकोसाथै नेपाली रुपैयाँ अमेरिकी डलरसँग कमजोर हुँदै गएको र मुलुकभित्र इन्धनलगायत अत्यावश्यक वस्तुहरुको आपूर्तिसमेत सहज हुँदै गएकाले लगानीको वातावरण अनुकूल हुँदै आएको छ ।

आगामी दिनमा आर्थिक गतिविधिमा थप विस्तार हुने अपेक्षा राष्ट्र बैंकको रहेको छ ।