२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025

मेला आयोजनालाई स्तरीय बनाउन बलियो पूर्वाधारको आवश्यकतामा जोड


0
Shares

काठमाडौं, चैत ३ । नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले मेला आयोजनालाई अझ बढी स्तरीय र अन्तर्राष्ट्रियस्तरको बनाउन बलियो पूर्वाधारको आवश्यकतामा जोड दिएकी छन् ।

विहीबारदेखि राजधानीको भृकुटीमन्डपमा सुरु हुन लागेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०७२ काबारे जानकारी गराउन महासंघले बुधबार गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष राणाले उक्त जोड दिएकी हुन् ।

महासंघले अन्तर्राष्ट्रिय व्यापार मेलालाई अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यअनुसार काम गरिरहेकाले सरकारले मेला महोत्सव आयोजनाका लागि सुविधासम्पन्न पूर्वाधार निर्माणमा तदारुकता देखाउनुपर्ने उनको भनाइ हो ।

राणाले सरकारले उपयुक्त स्थानमा जग्गा उपलब्ध गराइदिएमा निजी क्षेत्र पूर्वाधार निर्माणमा सघाउन तयार रहेको विश्वाससमेत दिलाइन् ।

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार/वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको सहयोगमा क्यालेन्डर इभेन्टकोरुपमा मेला आयोजना गर्दै आएको छ । यो पाँचौै संस्करण हो ।

मेलाको सहआयोजकमा महासंघको सदस्य नेपाल हस्तकला महासंघ र नेपाल जडिबुटी उत्पादक संघ रहेका छन् । मेलामा स्वदेशी एवं विदेशी गरी ३५० ओटा स्टलहरु रहने छन् ।

मेलामा आयोजक राष्ट्र नेपालसहित भारत, चीन, पाकिस्तान, बंगलादेशको प्रत्यक्ष सहभागिता रहने छ ।

मेलामा भारतबाट ७० ओटा, चीनको ९० ओटा, पाकिस्तानको २० ओटा, बंगलादेशको पाँचओटा र बाँकी नेपाली स्टलहरु रहने छन् ।