
पेशल आचार्य –
नेपालमा वर्षको एकपटक नारी दिवस बहुत सेरगुलका साथ मनाइन्छ । विकसित देशमा ठूलो हल्लीखल्ली हुन्न । किनकि त्यहाँको आधुनिक समाजमा नारीलाई व्यक्तित्व विकासका धेरै अवसरहरू छन् । लिङ्गकै आधारमा भेद्भाव ‘फस्ट वर्ल्ड’मा गरिँदैन । त्यो संस्कार पनि छैन । समानता छाएको छ – अधिकारको । नेपालमा अझै नारी भएकैमा अनेक शोषणका दुर्गहरूमा नारीहरूलाई अल्झाइएको छ । आमा, दिदी र बहिनीले तुइनतर्दा लठ्ठामा झुण्डिएका तस्वीरहरू, छाउपडीका समाचारहरू र घाँस दाउरा गरेका फोटाहरू अझै नेपाली अखबारमा क्याप्सनसहित छापिएका पाइन्छन् ।
केही सहरीया नारीहरू पनि गहनाका सिकन्जामा मस्तराम भएका छन् । तिज–पञ्चमी र बिहेबटुलामा नारीहरूको चेतनालाई पहेँला अलङ्कारका भारले थपक्क थिचेको पाइन्छ । सामन्तवादी समाजमाअझै सुनिन्छन्– पुरुषका कमजोरी नारी अनि नारीका कमजोरी गहना । समाजशास्त्रका विद्यार्थीले थेसिसमा अझै लेखिरहेका छन् ।
देवाधिदेव शिवलाई हेरौं न, उनमा कुनै गहना छैन । खरानी लेपर बाघको छालाले बेरेको छ उनलाई । भष्म लेपनका भाँतीमा विराजमान् छन् । उनकी भार्या पार्वतीको गेट अपमा गहनाका भार यति छन् कि न्यूटनको सिद्धान्त नै फेलआउट बन्न बेर छैन । लोडसेडिङले आक्रान्त यो देशमा हास्यसुपर स्टारहरू सत्ताशिखरमा छन् । हावाबाट बिजुली र इन्टरनेटबाट सप्लाई भन्छन् । अझै भन्दैछन् । उनीहरूकै गोयबल्स प्रचारकहरू टुप्पीदेखिको बल लगाएर एकातिर लोडसेडिङलाई बढाइरहेका छन् भने अर्कोतिर वैकल्पिक ऊर्जाका फत्तुर जारी गरिरहेका छन् । सातामा पचासी घन्टा विद्युत् बिसौनी छ ।
नारी दिवस कै सार्थकता भन्नु पर्छ कि यहाँ कांग्रेसको १३ औं महाधिवेशनमा रामहरू हारेका छन् । विजयमा सीताहरू आइसके । जनताले लेखा राम्ररी राखेका रैछन्, अनि त चित्रलेखाहरूहारे । कृष्णको हारमा अन्तर्य के हो ? त्यो समयक्रममा देखिनेछ । युवाका मनमा विराजमान गगनले ६ सय युवाका मतपत्रमा आफूलाई सेल्फीहान्न सकेनन् ।
चुनावमा ज्वाइँससुरा त्यसरी हारेकि जसरी हिन्दी सिनेमामा बिगबी भनिने अमिताभ बच्चन र पुत्र अभिषेक बच्चन अभिनित फिल्म एकाएक फ्लप हुन्छ । निर्वाचनले सबैको हाँच र हैसियत देखाइदिन्छ । मतपत्र च्यापेपछि भोटरले नेताका कर्तूतहरू रिल र रियलमा तुलना गर्छन् । आखिर त्यही देखिन्छ जो मतदाताको अन्तर्यमा हुन्छ । राम र कृष्णका हकमा सो भएको पाइयो ।
पावन शिवरात्रीपर्वको पाश्र्वमा शेरबहादुरको जय गान त्यसरी भएको छ जसरी पाशुपात क्षेत्रबाट नाङ्गा बाबाहरू पशुपति क्षेत्र विकास कोषका दक्षिणा थापेर जब आफ्ना देश र आश्रम फिर्ने बेलामा खाम खोलेर विश्मयकारी अनुहार देखाउँदै अमिलो मुख पार्छन् । शेरबहादुरलाई अहिले भोट दिने–नदिने सबैले यसरी चित्रण गरेका छन् कि उनी दुःखी देश नेपालका एकमात्र दुःख मोचन गर्ने मसिहा हुन् । मानौं ‘छु मन्तर’ शैलीमा सभापतिमा उनको पदार्पणले नेपाली राजनीतिको फोहोरी गंगा सफा हुनेछिन् । अझ त्यो पनि कांग्रेसका सवालमा बढी ।
शेरबहादुर पुराना पात्र भए पनि उनी कसीमा घोटिन तयार भए । बधाइ त्यो मानेमा दिनु पर्छ– आँट गरे । अब नेपाली राजनीतिको अस्थिरतालाई धीरप्रशान्त शैलीमा पार लगाऊन् । जनचाहना यही हो । तर नेपाल अझै जब्बर राजनीतिको गोलचक्कर मै घुमिरहेको छ । यो वा त्यो बहानामा भूकम्प पीडितलाई दिएका सहयोग स्थानीय निकायको अभावमा विदेशी दातृले फिर्ता लैँजादै छन् भन्ने खबर आएका छन् । समझदारीको राजनीतिमा शेरबहादुर नहड्बडाइकन सफल भए भने उनको सो कार्यले सुशीलदाको आत्मालाई चिर शान्ति मिल्ने पक्का छ । नेपाली कांग्रेसको ऐतिहासिक विराशत अब देउवाका काँधमा रहेको छ । भनिन्छ –कांग्रेस जहिले पनि इतिहासको पूँजी भँजाएर बाँचेको, वर्तमान कोलाहलमा साँचेको र भविष्यगामी पाइला चाल्न संकोच मान्ने माउ पार्टी हो ।
कटुसत्य यस्तो पनि छ– अविचारको दलदलबाट कांग्रेसलाई निकाल्न जरूरी छ । लाखौं युवा कार्यकर्ताहरू यही भावले विचरण गरिरहेका छन् । जसका मनको आवाजमा शेरबहादुर समान अवसरको संगीत बनी धून भर्न सक्छन् या सक्दैनन् त्यो उनले अख्तियार गर्ने कार्यशैलीले केही महिना र वर्षमा बताउने नै छन् ।
अहिले बलेको आगो ताप्ने चलन नेपालमा बढी चलेको छ । हुन पनि विगत बीस वर्षदेखि त्यही भएको छ । जनतालाई ग्यास र तेलका नाममा यस्तो सास्ती दिने आयल निगमका हाकिम गोपालबहादुर जस्तालाई सिष्टम भएको देश भएको भए अभियोग लाग्ने थियो । नाकाबन्दीमा भएको भनिएको ‘तेल राजनीतिको म्याचफिक्सिङ्’ ले भलै उनले स्वीकृति दिएको विराट पेट्रोलियमको तेल बेचाउन हालका दिनमा पनि कृत्रिम अभाव खडा गरी अझै राजधानीका पम्पमा तेल सहज भएको छैन । चन्द्र शमशेर शैलीले चलाएको छ यो देशको शासन । अझै हामी अढाइ सय र तीन सयमा इन्जिन सिजन हुने तेल किनिरहेका छौं । विचरा ! आपूर्ति मन्त्रीको फूर्ति त्यसै सेलायो ।
विचार र आदर्श अलिनो बनेको छ देशमा । त्यसैले आन्दोलनका मसाल बाल्ने तुजुक झिक्नखोज्दै छन् –उपेन्द्रहरू । प्रयोजित भनी नयाँ सदैव दुत्कारिने गर्छ । बाबुरामका नयाँ राजनीतिका पानाहरू पल्टिन नपाउँदै विवाद् घेरामा आइसके ।
सकियो– कांग्रेसको कुम्भ मेला । यो महामेला नेपाली राष्ट्रियता दुखेका बेला सम्पन्न भएको छ । तराईतिरका कार्यकर्ताहरूले यो पाला गाउँ र जिल्ला अधिवेशमा दुःख पाएका खबर पनि अखबारमा पढिए । पूरै देश नै ‘डि अर्थतन्त्र’मा भासिएको विश्लेषण भयो । नयाँ जोशपूर्वक संविधान कार्यान्वयन सवालमा माउ पार्टीहरू निस्तेज भएका देखिए । द्रोह झकाएको मात्र छ । घोडा बेचेर सुतेको छैन ।
कांग्रेसको केन्द्रीय कार्यसमिति कस्तो मुहार बोकेर आउँछ त्यो अहिल्यै पूर्वानुमान गर्न गाह्रो छ । जस्तो आएपनि यो देशले नाकाबन्दीमा जुन सास्ती र अर्थतन्त्रको घाटा बेहोर्यो त्यसको क्षतिपूर्ति अबका केहीवर्ष रातोदिन परिश्रम गर्दा पनि सापोनापो हुन नसक्ने तर्क अर्थशास्त्री मात्रै होइनन् समाजशास्त्री समेत गर्दैछन् ।
अभाव र असक्षमतामा गरिने राजनीति सँधै उर्वर हुन्छ । ठ्याक्कै भएको छ नेपालमा । विदेशबाट गहभरि आँसु पार्दै घर छोडी घरका लागि कल्पिनेहरूका जपनाले त्यही भाव पोख्छन् । यस्ता भाव पढ्ने चेष्टा अबका नयाँ शेरबहादुरहरूले गर्नु पर्छ । जो केन्द्रीय कार्यसमितिमा विभिन्न पदमा चुनिएर आउने छन् ।
देशमा हरेक क्षेत्रमा नारीहरू भकाभक ‘किपोष्ट’ मा उदाउँदै छन् । राष्ट्रपतिमा विद्या, सभामुखमा ओनसरि घर्ती । यो सन्दर्भ राम्रो पनि हो । केही अघि अखिलमा नवीना लामा उदाइन् । अहिले कांग्रेसमा माओवादीबाट पतिको हत्या गरिएकी कोषाध्यक्ष सीतादेवी यादव आइन् । केही समयपछि नै प्रधानन्यायाधीशमा सुशीला कार्की आउँदै छिन् । यी परिदृश्यले पनि नेपालको समग्र मुहार फेर्न सक्ला/नसक्ला त्यो अहिले नै यसै भन्न सकिन्नँ । किपोष्टमा नारीहरू आए अलि नारीमैत्री कानुन बन्थे कि ? प्रश्नहरूका लश्कर जारी छन् ।
शिवरात्रीले यस पाला कांग्रेसी कार्यकर्तालाई ‘पशुपतिको यात्रा सिद्राको व्यापार’ उखान चरितार्थ बनाउन सहयोग पुर्यायो । ‘एकपन्थ दो काज’ भयो पनि । भृकुटी मण्डपमा ‘हिलटेक पानी ट्याङ्की’मा भोट हाल्न लगाउने देशको ठूलो राजनीतिक पार्टीबाट भविष्यमा ‘हाइटेक कांग्रेस’ को कल्पना गर्न सकिएला भनेर सोच्न सकिँदैन । कांग्रेसले यसपटक प्रविधिमा चुस्त रहनपनि इलेक्ट्रोनिक भोटिङ् मेसिनमा जान सकेको भए लाजैगालै देशका अरु ठूला पार्टी र ससाना पार्टीहरूले पनि त्यो अनुकरण गर्ने थिए । मानकता देखाउन पनि कांग्रेस चुक्यो । चुकेकै हो । ठूलोपार्टीले भविष्यगामी ठूल्ठूला कामगर्न सक्नु पर्छ । अनिमात्र धेरै युवाको मन जितिन्छ ।
एमाले नेतृत्वको मिलिजुली सिण्डिकेटमा अडिएको अवैचारिक सरकार पनि शेरबहादुर देउवाको कांग्रेस सभापति पदमा पदार्पणसँगै मनोवैज्ञानिक रुपले भित्रभित्रै हल्लिएको चित्रण गरिँदै छ । धेरैले गेस गरेका थिए– कांग्रेस महाधिवेशन पछि नाकाबन्दी र सरकार दुबै हट्नेछन् । यी कुरामा कतिको दम छन्, त्यो हेर्न अझै केही साता पर्खनु पर्ने भएको छ । कांग्रेसले विगत्मा पनि आफूलाई सत्ताबाहिर धेरै समय प्रतिपक्षमा राखेको इतिहास पनि त छैन ।
ताज्जुबको विषय यो छ कि अहिलेका मन्त्रीहरूको बोली दबिएर धिमा देखियो । भारत उसको कूटनीतिमा येनकेन प्रकारेण सफल भइछाड्यो । नाकाबन्दी नभनिएको नाकाबन्दीका बेला निकै कडाकडा स्वरमा बोल्ने आधादर्जन उपप्रमहरू पनि भविष्यमा आउने प्रदेश र स्थानीय निर्वाचनमा पार्टीलाई अस्थित्वको सवालमा बचाउन वैचारिक जोहोमा लागेका हूनन् । तेल राजनीतिमा भारतले सबैलाई चिप्ल्याइदियो ।
संविधानको सुत्केरोमय अवस्थाबाट देशले कहिले पार पाउला ? भूकम्प पीडितले सकसहीन तबरले छिटै रकम पाएर आफ्नै घरभित्र मस्त निद्रामा सपना कहिले देख्न पाउने हुन् ? प्रश्नहरूको क्याराभानमा दुईवटा यक्ष प्रश्न यी हुन् । यसको जवाफ अब कांग्रेसका सबैभन्दा ठूला निर्वाचित मोनिटर शेरबहादुर देउवाले चाल्ने रणनीतिले दिने छ । दिनुपर्छ । जनताको चाहना पनि अहिलेलाई यत्ति हो ।
प्रतिक्रिया दिनुहोस्