
काठमाडौं, चैत ३ । इङ्लिस फुटबल क्लब म्यानचेस्टर सिटी पहिलो पटक युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
राउण्ड अफ सिक्सटिनअन्तर्गतको खेलमा युक्रेनको डाईनामो किभलाई समग्रमा ३–१ ले हराउँदै म्यानचेस्टर सिटी अन्तिम आठमा पुगेको हो ।
मंगलबार राति भएको दोस्रो लेगको खेलमा सिटीलाई डाईनामो किभले गोलरहित बराबरीमा रोक्यो । तर पहिलो लेगको खेलमा हात पारेको ३–१ को जितको मद्दतले सिटी क्वाटरफाइनलमा पुगेको हो ।
च्याम्पियन्स लिग अन्तर्गतको अर्को खेलमा नेदरल्याण्ड्सको पि.एस.भी आईन्डोभनलाई पेनाल्टी सुट आउटमा हराउँदै स्पेनको एथ्लेटिको मड्रिड पनि क्वाटरफाइनलमा पुगेको छ । खेलको पहिलो लेग र दोस्रो लेगमा पनि गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
अतिरिक्त समयमा पनि कुनै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाई ब्रेकरबाट गर्नुपर्यो । टाइ ब्रेकरमा एथ्लेटिको मड्रिडका हुँवाफ्रानले निर्णायक गोल गर्दै टोलीलाई ८–७ ले विजयी गराएका हुन् ।
युएफा च्याम्पियन्स लिग फुटबलमा मंगलबार रातिका खेलपछि क्वाटरफाइनल पुग्ने ६ वटा टोलीको टुंगो लागेको छ ।
क्वाटरफाइनल पुग्नेहरुमा म्यानचेस्टर सिटी र एथ्लेटिको मड्रिडसँगै स्पेनको रियल मड्रिड, फ्रान्सको पेरीस सेन्ट जर्मेन, पोर्चुगलको बेनीफिका र जर्मनीको उल्फवर्ग रहेका छन् ।
क्वाटरफाइनलमा पुग्ने बाँकी दुई टोलीको टुंगो बुधबार राति लाग्नेछ । अन्तिम प्रि क्वाटरफाइनल खेलमा आज स्पेनको बार्सिलोनाले इङ्ल्यान्डको आर्सनलसँग खेल्दा जर्मनीको बायर्न म्युनिख र ईटलीको युभेन्टस भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्