
धनकुटा, असार २९ । धनकुटाका सबै स्थानीय तहले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम पारित गरेका छन् ।
सात स्थानीय तह रहेको धनकुटाका सबै स्थानीय तहको प्राथमिकतामा सडक, कृषि, खानेपानी तथा पर्यटकीय क्षेत्र परेका छन् । धनकुटा नगरपालिकाले आउँदो आर्थिक बर्ष २०७५÷०७६ को लागि ५२ करोड ८९ लाख रुपैयाँ बिनियोजन गरेको छ ।
यो बर्ष नगरपालिकाले सडक सञ्जाल स्तरोन्नति, कृषि, पशु, बालमैत्री नगर आदि कार्यक्रमलाई आफ्नो प्राथमिकतामा राखेको छ ।
महालक्ष्मी नगरपालिकाले करिब ५३ करोड रुपैयाँ बिनियोजन गर्दै सबै वडामा सडक विस्तार गर्ने कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको छ ।
त्यस्तै पाख्रिवास नगरपालिकाले पनि आगामी वर्षदेखि सडकको नयाँ ट्रयाक खोल्न बन्द गर्दै बाह्रैमास सडक सञ्चालन हुने खालको बनाउने कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखिएको जनाएको छ ।
शहीदभूमि गाउँपालिकाले सडक गुरुयोजना निर्माण गरिसकेको हुनाले सडक निर्माणलाई मुख्य प्राथमिकतामा राखेको बताएको छ ।
छथरजोरपाटी गाउँपालिकाले पनि कृषि र सडकलाई मुख्य प्राथमिकतामा राखेर वार्षिक बजेट तथा नीति तथा कार्यक्रम पारित गरेको छ ।
चौविसे गाउँपालिकाले पनि कृषि, पर्यटन र सडकलाई मुख्य प्राथमिकतासहित आगामी वर्षको नीति तथा कार्यक्रम निर्माण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्