
काठमाडौं, असार १६ । संसदीय समितिले निजामती सेवा ऐन पारित गरेसँगै नायब सुब्बाहरु आन्दोलनमा उत्रेका छन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेको ऐनले नासुहरुको ‘घाँटी निमोठ्ने’ काम भएको भन्दै नासुहरु आन्दोलनमा उत्रिएका हुन् ।
विभिन्न मन्त्रालयका कार्यरत् नासुहरुले सिंहदरबारभित्रै आन्दोलन सुरु गरेका हुन् ।
मंगलबार अर्थ मन्त्रालयमा कार्यरत् नायब सुब्बा हिमाल आचार्यले ऐनले नासुहरुलाई विभेद गरेको बताउनुभयो ।
निजामती सेवा ऐन २०४९ ले दिएको वृद्धि विकास खोसेर ऐन आएको भन्दै उहाँले आपत्ति व्यक्त गर्नुभयो ।
गृह मन्त्रालयका नासु लक्षमण गुरागाईंले वृत्तिविकासको ढोका बन्द गर्नेगरी मन्त्रीको सहमतिका बाबजुद् पारित भएको ऐनको विरुद्धमा आन्दोलन गर्नुपरेको बताउनुभयो ।
सरकारले आफूहरुका मागहरु पूरा नगरे आन्दोलन थप चर्किने उहाँले बताउनुभयो ।
तृतीय श्रेणी शाखा अधिकृतसरहको पदपूर्तिमा ५० प्रतिशत खुला, ३० प्रतिशत बढुवा र २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने माग उनीहरुको छ ।
कुनैपनि साविकको पदबाट अधिकतम् १२ वर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरेरमात्र खुलातर्फ विज्ञापन गर्नुपर्ने माग पनि उनीहरुले राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्