
नवीन सिंह (इमेज)
जनकपुरधाम, असार १६ । कोरोनाभाइरसको रोकथाम एवं नियन्त्रणका लागि प्रदेश नम्बर–२ सरकारले हालसम्म एक अर्बभन्दा बढी रकम खर्च गरेपनि ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’ कक्ष व्यवस्थित देखिएको छैन ।
वर्षायाम लागेसँगै क्वारेन्टिनमा बस्नेहरुले थप समस्या भोग्नुपरेको छ ।
मुलुकमा सबैभन्दा बढी संक्रमित प्रदेश नम्बर–२ मा चार हजारभन्दा बढी रहेका छन् ।
तीव्ररुपमा बढ्दै गएको कोरोनाको संक्रमण रोक्न प्रदेश सरकारले हालसम्म एक अर्ब २२ करोड ६९ लाख १० हजार २९ रुपैयाँ खर्च गरिसकेको छ । तरपनि क्वारेन्टिन र आइसोलेसनमा बस्नेदेखि उपचारसम्मको व्यवस्था अव्यवस्थित छ ।
वर्षायाम लागेपछि विभिन्न क्वारेन्टिनमा पानी चुहिने र खानालगायतका समस्या हुन थालेका छन् ।
यसबारेमा प्रदेश–२ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले विभिन्न संघ–संस्थाको सहकार्यमा क्वारेन्टिनको मर्मत–सम्भार र खाना व्यवस्थाको तयारी भइरहेको बताउनुभयो ।
प्रदेश सरकारले कोरोनाभाइरस संक्रमण रोकथाम एवं नियन्त्रणका लागि विभिन्न मन्त्रालयबाट खर्च भइरहेको जानकारी दिनुभयो ।
क्वारेन्टिनमा ‘पीसीआर’ परीक्षण, संक्रमितलाई सँगै राख्ने, वर्षालगायतका कारण समस्या भोग्नुपरेको जनकपुरको गोपाल धर्मशालास्थित क्वारेन्टिनका व्यक्तिहरुले गुनासो गरेका छन् ।
क्वारेन्टिनमा अन्य कुराको व्यवस्थापन ठिक रहेपनि पीसीआर परीक्षण र संक्रमितलाई छुट्टै राख्ने र अस्पताल पठाउने व्यवस्था समयमा नगरिएकाले क्वारेन्टिनमा बस्नेहरुलाई समस्या भएको क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मीले बताएका छन् ।
प्रदेश–२ सरकारले अर्बौं रुपैयाँ खर्च गरेपनि व्यवस्थापनको अभावले कोरोना संक्रमित र शंकास्पदलाई निकै समस्या भोग्नुपरेकाले यसतर्फ सम्बन्धित निकायले ध्यान पुर्याउन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्