
सागर महर्जन (इमेज)
काठमाडौं, असार १६ । कोरोना संक्रमण बढेसँगै सर्वसाधारण भिडभाड हुने ठाउँमा कम जान थालेका छन् । यसको प्रत्यक्ष मारमा नेपाली रंगमञ्च पनि परेको छ ।
विस्तारै सामान्य अवस्था आएपनि तत्कालै दर्शक नपाउने भएकाले कलाकर्मी र रंगकर्मीलाई आफ्नो पेसा टिकाउन नै हम्मे–हम्मे परेको छ ।
सामान्य अवस्थामै पनि छायामा परेको रंगमञ्च तथा रंगकर्मीहरु अहिलेको अवस्थामा झन् समस्यामा परेका छन् ।
दर्शकहरुलाई एकैठाउँ जम्मा गरेर प्रस्तुत गरिने नाटक अहिले रोकिएको छ । यद्यपि, विभिन्न ‘डिजिटल प्लेटर्फम’बाट भने नाटकलाई निरन्तरता दिने प्रयास रंगकर्मीहरुले गरेका छन् ।
‘लकडाउन’ केही खुकुलो भएको अवस्थामा विभिन्न सडक तथा स्थानमा पनि थोरैमात्र कलाकार सहभागी भएर जनचेतनामूलक नाटक मञ्चन गरिएको थियो ।
तर, दर्शकलाई एकैठाउँ भेला गरेर नाटक मञ्चन गर्नुपर्ने भएका कारण लकडाउन खुकुलो भएपनि नियमित प्रस्तुतिका लागि समय लाग्ने भएकाले आम्दानीको स्रोत नै रोकिने कलाकारहरुको गुनासो छ ।
कोरोनाको कहर कम भएर मनोरञ्जनका विभिन्न क्षेत्रहरु विस्तारै लयमा आएपनि दर्शकले भिडभाडमा जाने मानसिकता बनाउन केही समय लाग्ने भएकाले पनि रंगमञ्च, चलचित्र भवन तथा महोत्सवमा दर्शकहरुको उपस्थिति कम हुने निश्चित छ ।
सोही कारण रंगमञ्च तथा रंगकर्मीहरु कोरोना कहरमा मात्र नभइ कोरोनापछि पनि समस्यामा रहने कलाकार विजय बरालले बताउनुभयो ।
नाटक कलालाई समाजको संस्कृति तथा समसामयिक विषयवस्तु प्रस्तुत गर्ने एक प्रभावकारी माध्यमका रुपमा लिइन्छ ।
सोही कारण पनि विश्वका थुप्रै देशमा सरकार र व्यवसायीहरुको अनुदानबाट नाटकको विकासले तीव्रता पाएको छ । तर, दर्शकबाट उठेकै पैसाबाट टिकिरहेको नेपाली रंगमञ्च भविष्य अब के होला ?
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्