
काठमाडौं, असार १६ । आगामी दिनमा लाखौं सिरियाली नागरिक भोकमरीको संकटमा पर्न लागेको भन्दै सचेत रहन चेतावनी दिइएको छ ।
नर्वेजियन शरणार्थी परिषद्, अक्सफाम, केयरलगायतका विश्वका गैरसरकारी संस्थाहरुले सिरियामा कम्तीमा पनि ९० लाख शरणार्थी भोकमरीको समस्यामा पर्न लागेको जनाएका छन् ।
एक दशकदेखि गृहयुद्धमा फसेको सिरियामा लाखौं नागरिकले खाद्यसंकट झेल्नुपरिरहेको भन्दै आगामी केही समयमै उनीहरु भोकमरीको संकटमा पर्ने जनाएका हुन् ।
उनीहरुले दातृराष्ट्रहरुका साथै संघ–संस्थाहरुलाई सहयोग बढाउन आग्रह गरेका छन् ।
पश्चिमा शक्ति राष्ट्रहरुले द्वन्द्वग्रस्त सिरियामा मानवीय सहायताका सामग्री तत्काल पठाउन संयुक्त राष्ट्रसंघलाई यसअघि नै आग्रह गरेका थिए ।
सिरियन सरकारले अन्तर्राष्ट्रिय दाताबाट प्राप्त सामग्रीको व्यवस्थित वितरण गर्न असक्षम रहेको भन्दै बेलायत, फ्रान्स र अमेरिकाले हवाईमार्गबाट भएपनि त्यहाँका केही स्थानमा सहायता सामग्री पुर्याउन विगतदेखि नै राष्ट्रसंघलाई आग्रह गरेका हुन् ।
पछिल्लो समयमा खाद्यान्नको अभावका कारण सिरियाका कैयौं क्षेत्रहरुमा भोकमरी फैलिएको छ ।
केही समयभित्रै भोकमरीको अवस्था कम्तीमा पनि ९३ लाख सिरियाली नागरिकसम्म पुग्नसक्ने बताइएको छ ।
सिरियामा कोरोनाभाइरसका कारण उत्पन्न संकटका कारण पनि खाद्य सामग्री अभाव भएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्