१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ट्याक्सी व्यवसायी सडकमा, भन्छन्–‘कि त काम देऊ, कि त माम देऊ सरकार’ (भिडियो)


0
Shares

दीपक श्रेष्ठ र लक्ष्मण डंगोल (इमेज)

काठमाडौं, असार १६ । लामो समय ‘लकडाउन’ हुँदा ट्याक्सी चलाउन नपाएको भन्दै ट्याक्सी व्यवसायीहरु आन्दोलित भएका छन् ।

आम्दानीको स्रोत बन्द भएको भन्दै ट्याक्सी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

लामो समय काम गर्न नपाएका ट्याक्सी व्यवसायीहरुले रोगले नभइ भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिन माग गरेका छन् ।

तर, माग सुनुवाइ नभएपछि आफूहरु आन्दोलन गर्न बाध्य बनेको व्यवसायीहरुले बताएका छन् ।

अखिल नेपाल यातायात मजदुर संघले १५ गतेसम्म माग सम्बोधन गर्न समय दिएपनि सरकारले बेवास्ता गरेपछि विरोध गरेका हुन् ।

उनीहरुले विरोधस्वरुप ट्याक्सीको चाबी यातायात व्यवस्था विभागमार्फत् सरकारलाई बुझाएका छन् ।

लामो समयदेखि कायम रहेको लकडाउनका कारण ट्याक्सी सञ्चालन गर्न नपाएका व्यवसायीलाई बैंकले ऋणको किस्ता तिर्न ताकेता गर्न थालेपछि सरकारलाई दबाब दिएका हुन् ।

सरकारले आफूहरुका माग तत्काल पूरा नगरे काठमाडौं उपत्यकामा रहेका सबै ट्याक्सी सिंहदरबारमा लगेर बुझाउने अवस्था आउने व्यवसायीहरुले चेतावनी दिएका छन् ।

निजी गाडी सञ्चालन गर्दा कोरोना नलाग्ने तर ट्याक्सी सञ्चालन गर्दा लाग्नेजस्तो गरी सरकारले व्यवहार गरेको व्यवसायीहरुको गुनासो छ ।

व्यवसायीहरुले ट्याक्सी सञ्चालन गर्न नपाउँदा आफ्नो दैनिक जीवन निर्वाहमा समेत समस्या भएको गुनासो गरेका छन् ।

उनीहरुले सरकारका कारण ट्याक्सी चलाउन नपाउँदा घरमा खानेकुरा सकिएको र रोग, भोक र तनावले मानसिक सन्तुलन गुम्ने स्थितिमा पुगेको बताएका छन् ।

निजी सवारी–साधनले भाडाका सवारी–साधनजस्तै गरेर यात्रु ओसारेपनि सरोकारवाला निकाय मौन बसेको आरोप लगाएका छन् ।

आफूहरुलाई घरभित्रै राखेर निजी सवारी–साधनलाई यात्रु ओसार्न दिएकोप्रति आपत्ति जनाएका छन् ।

भिडियो हेर्नुहोस्