
राकेश बस्नेत (इमेज)
दाङ, असार १७ । दाङको घोराहीमा विकास निर्माणका गुणस्तरहीन कामप्रति स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।
घोराहीको मुख्य चोकनजिकैको सडकका खाल्डा पुर्नेक्रममा झारा टार्ने काम भएको पाइएपछि स्थानीय आक्रोशित बनेका हुन् ।
दाङको घोराहीका मुख्य चोकको सडकमा खाल्डै–खाल्डा छन् भने भएका नालाहरु पनि भत्काएर अस्तव्यस्त बनाइएको छ ।
वर्षाको समयमा खाल्डो पुर्न ढुंगा र बालुवा हालेकाले घोराही उपमहानगरपालिका–१५ का स्थानीयले आश्चर्य प्रकट गर्दै बजेट हिनामिना गरेको आरोप लगाएका छन् ।
खाल्डोमा ढुंगा, बालुवा हाल्दा गाडीले ढुंगा उछिट्टिएर पैदलयात्रीलाई लाग्नसक्ने उनीहरु बताउँछन् ।
आर्थिक मसान्त सकिन केही दिनमात्रै बाँकी रहँदा दाङमा धमाधम विकास निर्माणका कामहरू सुरू भएका छन् ।
नाला खन्नेदेखि सडक फराकिलो बनाउने, नयाँ ‘ट्रयाक’ खोल्ने र विशेषगरी सडकमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ ।
विकास निर्माणको काम धमाधम भइरहेको बताउँदै यही आर्थिक वर्षभित्र काम सक्नुपर्ने नत्र बजेट ‘फ्रिज’ भएर जाने जिल्ला अनुगमन तथा समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली बताउनुहुन्छ ।
वर्षाको समयमा गरिने विकास निर्माणका कामहरू गुणस्तर नहुने सडक डिभिजन दाङका इन्जिनियर रिकेस महर्जन बताउनुहुन्छ ।
जेठ महिनासम्ममात्र बाटो पिच गर्न उपयुक्त समय रहेको उहाँले बताउनुभयो ।
जहिले पनि वर्षा लागेपछिमात्र हुने विकास निर्माणका यस्ता गतिविधिले एकातिर नागरिकलाई सास्ती हुनेछ भने अर्कोतिर निर्माण खर्च पनि खेर गइरहेको छ । यसतर्फ सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्