१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘नेपालमा सलहको जोखिम अझै’


0
Shares

नारायणी लामिछाने (इमेज)

काठमाडौं, असार १७ । बालीनाली सखाप पार्ने सलह नेपालमा भुसको आगोझैं फैलिन थालेको छ ।

पाँच झुन्ड सलह बुधबारसम्ममा २६ जिल्लामा फैलिएको र यसले धान तथा मकैमा क्षति पुर्‍याइसकेको कृषि मन्त्रालयले जनाएको छ ।

अफ्रिकाबाट आयातित सलह नेपाल प्रवेश गरेको केही दिनमै २६ जिल्लामा फैलिएको छ ।

सलहले मकवानपुर जिल्ला र दाङको लमहीमा मकै नष्ट गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

यो किरा बारा, पर्सा लुम्बिनी, रुपन्देही, प्यूठान, अर्घाखाँची तथा कपिलवस्तुलगायतका तराई र मध्यपहाडी जिल्लामा फैलिइसकेको छ ।

भारतबाट सुरुमा सानो–सानो संख्यामा टुक्रिएर सलह नेपाल प्रवेश गर्न थालेको हो ।

सुरुमा प्रभाव नदेखिएको सलहले अहिले धान र मकै सखाप पार्न थालेको मन्त्रालयले जनाएको छ ।

हावाको बहाव र गतिअनुसार नै सलह फैलन सक्नेतर्फ सचेत रहन मन्त्रालयका प्राविधिक समूह संयोजक रामकृष्ण सुवेदीले आग्रह गर्नुभयो ।

यद्यपि, नेपाल प्रवेश गरेका सलह बढी उमेरका रहेको र मरुभूमिमा मात्रै यसले अन्डा पार्ने भएकाले नेपाललाई कम जोखिमयुक्त क्षेत्र मानिन्छ ।

तर, भारतमा सलहले पाँच लाख हेक्टरमा लगाइएको बाली नष्ट गरेकाले नेपालमा उच्च सतर्कता अपनाउनुपर्ने बताइन्छ ।

किटविज्ञ डा. डिल्लीराम शर्मा हावाको बहावअनुसार नै सलह हिँड्ने भएकोले जोखिम रहेको ठान्नुहुन्छ ।

हावा दक्षिणबाट उत्तरतिर लाग्दा भारतबाट नेपालमा सलह ह्वात्तै भित्रिन सक्ने र नेपाल प्रवेश गरेका सलहको झुन्ड बढीमा एक महिनासम्म यहीँ बस्न सक्ने डा. शर्माको भनाइ छ ।

धुवाँ र आवाजको माध्यमबाट सलह भगाउन सकिन्छ । सलहबाट बालीनाली जोगाउने यो उपाय अपनाउन कृषकहरु लाग्नुपर्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्