
दीपेन्द्र अधिकारी र विशाल लामा (इमेज)
काठमाडौं, असार १७ । सत्तारुढ दल नेकपाको आन्तरिक द्वन्द्वले चरम रुप लिइरहेको बेला निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन पर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
नेकपाकै वरिष्ठ नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा एमाले दर्ता प्रक्रिया अघि बढेको दाबी गरेका छन् ।
एमाले पार्टीको कार्यसमितिमा रहेकाहरु चिनिने गरी राजनीतिक ‘प्रोफाइल’ बनाएका व्यक्तिहरु छैनन् ।
निर्वाचन आयोगमा गत आइतबार नेकपा एमाले नाममा दल दर्ताका लागि परेको निवेदनले मंगलबार बसेको नेकपा स्थायी समिति बैठकमा चर्को बहस भयो ।
केही नेताहरुले प्रधानमन्त्री ओलीकै निर्देशनमा एमाले ब्युँताउन खोजिएको आरोप पनि लगाए ।
भलै, प्रधानमन्त्री ओलीले एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको विषयमा आफूलाई थाहै नभएको बताउनुभएको थियो ।
आयोग पुगेको निवेदनमा पार्टी अध्यक्षको नाम सन्ध्या तिवारी उल्लेख छ । उहाँ विराटनगर–६, मोरङकी स्थायी बासिन्दा भएको बुझिएको छ ।
२१ जनाको कार्यसमितिमा कुस्ती खेलाडी भगवती खड्का उपाध्यक्ष रहेकी छन् । मनिषकुमार उपाध्याय महासचिव रहेका छन् ।
कार्यसमितिमा जनजाति, दलित, मधेसी, महिलाहरु राखेर समावेशी बनाउन खोजेको देखिन्छ ।
तर, कार्यसमितिमा रहेका कोहीपनि व्यक्ति राजनीतिक पहिचान बनाएकाहरु होइनन् । उनीहरुमध्ये धेरैको राजनीतिक निकटता पूर्वएमालेसँग रहेको छ ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि एमाले नाममा अर्को पार्टी दर्ता भएको थिएन ।
‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३’ अनुसार दलीय एकीकरण भएको एक वर्षसम्म सोही नाममा अर्को पार्टी दर्ता गर्न पाइँदैन ।
दल दर्ता गर्नेहरुले त्यस पक्षको ख्याल गर्दै तत्कालीन एमाले पार्टीका महासचिव एवं सिद्धान्तकार मदन भण्डारीको जन्मजयन्ती पारेर नेकपा एमाले दर्ता गरेको देखिएको छ ।
सूर्य चिह्न सत्तारुढ नेकपाले लिएकाले एमाले ब्युँताउन खोज्नेहरुले पहाडबाट उदाउँदै गरेको सूर्यलाई चुनाव चिह्न बनाउन खोजेका छन् ।
पार्टी उपाध्यक्ष रहेकी भगवती खड्का जननेता मदन भण्डारीको सम्मानमा पूर्वएमाले समर्थकहरु एकीकृत हुने प्रयास गरेको र सोही उद्देश्यअनुसार एमाले दर्ताको निवेदन दिएको बताउनुहुन्छ ।
खड्काकाअनुसार कार्यसमितिमा रहेका सबैजना पूर्वएमाले कार्यकर्ता हुन् भने सत्तारुढ दल नेकपाका शुभेच्छुकहरु हुन् ।
निर्वाचन आयोगले भने नेकपा एमाले दर्ताको निवेदनमाथि जाँचबुझ भइरहेको बताएको छ ।
तत्कालका लागि नेकपा एमाले नामको स्वामित्व लिने प्रयासजस्तो देखिएपनि यसभित्र रहेको राजनीतिक खेलको पटाक्षेप हुन भने केही समय पर्खनैपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्