१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भारतबाट मल नआएपछि झापाका किसानले रोपाइँ गर्न पाएनन्


0
Shares

सुरेन्द्र भण्डारी/ ईमेज

झापा । मलको अभावको कारण झापाका कृषकहरुले असारको मध्य समय बित्दा समेत रोपाइँ गर्न पाएका छैनन् ।

खेतमा पर्याप्त पानी भएपनि भारतसंगको नाका बन्द हुँदा मल आउन पाएको छैन । जसका कारण कृषकहरुको रोपाइँ प्रभावित भएको छ ।

गत वर्ष यो अवधिमा झापामा झण्डै ५० प्रतिशत कृषकले रोपाइँ गरेका थिए । तर, यो वर्ष रासायनिक मलको अभावका कारण झापाका २५ प्रतिशत कृषकले मात्रै रोपाइँ सुरु गरेका छन् ।

यस अघिका वर्षमा झापाका किसानले सरकारले पर्याप्त मल उपलब्ध गराउन नसकेपनि भारतीय वजारबाट मल खरिद गर्दै समयमै धान रोपाइँ गर्ने गरेका थिए ।

तर, यस वर्ष कोरोना भाइसरको बढ्दो संक्रमणका कारण नेपाल भारत दुई देश बीचको सीमा नाका पूर्ण रुपमा बन्द भएपछि कृषकलाई समस्यामाथि समस्या थपिएको हो ।

मल बितरणको जिम्वेवारी पाएको कृषि सामग्री कम्पनी र साल्ड ट्रेडिङ कम्पनी लिमिटेडले झापाका कृषकलाई पर्याप्त मल उपलब्ध गराउन नसक्दा महंगो मूल्यमा कृषकले मल खरिद गर्नु पर्ने बाध्यता रहेको छ भने बजारमा मलको हाहाकार हुँदा कृषक चिन्तित बनेकाछन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल आपूर्तिको जिम्मा पाएका छन् ।

कृषि सामग्री लिमिटेडले जिल्लाका बिभिन्न सहकारी संस्थामार्फत किसानसम्म रासायनिक मल पठाउँदै आएको छ । तर, अहिले कम्पनीसंग नै रासायनिक मल युरिया नभएको कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोडका सूचना अधिकारी नारायण टुडू बताउनुहुन्छ ।

स्थानीय तहले अनुगमन नगर्दा झापामा रासायनिक मल बेच्ने सहकारी संस्थाले आफूखुशी मल बाँढ्ने गरेका छन् । जसले गर्दा लक्षित किसानसम्म रासायनिक मल नपुग्नु त छदैछ, असारको मध्य समय बित्दासमेत झापाको धान रोपाइँ प्रभावित भएको छ ।