
काठमाडौं, असार १८ । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।
काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ४८ दिने शिशुको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको हो ।
श्वास–प्रश्वासमा समस्या आइ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका शिशुको बुधबार मृत्यु भएको थियो ।
ती शिशुमा जन्मजात नै श्वासनलीमा समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बिहीबार नियमित ‘प्रेस ब्रिफिङ’मा जानकारी दिनुभयो ।
अस्पताल भर्ना भएपछि शल्यक्रिया गर्नुअघि ‘पीसीआर’ परीक्षण गर्दा शिशुमा कोरोना ‘पोजिटिभ’ देखिएको थियो ।
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । पछिल्लो २४ घन्टामा १०९ महिलासहित ४७३ जना नयाँ संक्रमित थपिएसँगै जम्मा संक्रमित १४ हजार ५१९ पुगेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।
नेपालमा पछिल्लो २४ घन्टामा ६६४ जना विभिन्न अस्पतालबाट ‘डिस्चार्ज’ भएका जनाइएको छ ।
योसँगै अहिलेसम्म पाँच हजार ३२० जना कोरोनामुक्त भइ डिस्चार्ज भएका छन् ।
हाल देशभर ३८ हजार १०९ जना ‘क्वारेन्टिन’मा रहेका छन् । १० हजार १३७ जना ‘आइसोलेसन’मा रहेका छन् ।
पछिल्लो २४ घन्टामा चार हजार ५३७ ओटा पीसीआर परीक्षण भएको छ । अहिलेसम्म दुई लाख ३३ हजार ७ सय ६४ ओटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
भिडियो हेर्नोस्
प्रतिक्रिया दिनुहोस्