
रोमन आचार्य र राजेन्द्र नापित (इमेज)
काठमाडौं, असार १८ । २०६६ साल चैत ७ गते नेपाली राजनीतिबाट सदाका लागि विश्राम लिनुभएका स्व. गिरिजाप्रसाद कोइरालाको ९७औं जन्मदिवस मनाइएको छ ।
प्रजातान्त्र स्थापनाका लागि क्रान्तिको कमान्डर र पटक–पटक जेलजीवन व्यतित गर्नुभएका कोइरालाले देशलाई चारपटक प्रधानमन्त्री भएर नेतृत्व दिनुभयो ।
सशस्त्र युद्धमा रहेको माओवादीलाई मूलधारको राजनीतिमा ल्याएर गणतान्त्रिक व्यवस्था स्थापना गराउनुभएको थियो ।
गिरिजाप्रसाद कोइरालाले ६० वर्षभन्दा बढी देश र प्रजातन्त्रका लागि राजनीतिमा होमिनुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था स्थापित गर्न कोइरालाले ८१ वर्षको उमेरमा दोस्रो जनआन्दोलन २०६२/६३ को नेतृत्व गर्नुभयो ।
१० वर्ष सशस्त्र विद्रोहको नाममा जंगल राजनीतिमा रमेको तत्कालीन विद्रोही माओवादीलाई मूलधारको राजनीतिमा ल्याउने र १२ बुँदे सम्झौता गराउन खेलेको भूमिकाले उहाँलाई निर्भिक र निडर नेताको रुपमा उभ्याएको हो ।
२००४ सालमा मजदुर नेताबाट राजनीति अघि बढाउनुभएका कोइरालाले प्रजातन्त्र प्राप्तीका लागि हतियार उठाएर क्रान्तिको कमान्डसमेत सम्हाल्नुभएको इतिहास छ ।
राजनीतिक बन्दीसमेत बनेर जेलजीवन व्यतित गर्नुभएका कोइरालाले २०४६ पछि पुनःस्थापना भएको बहुदलीय व्यवस्थाको २० वर्षे नेपाली राजनीतिमा नायक बन्नुभयो ।
कोइरालालगायतका नेताहरुको संघर्षले आएको वर्तमान व्यवस्था धराप पर्न थालेको छ ।
विशषेगरी सत्तारुढ दल र कमजोर प्रतिपक्षीको राजनीतिक स्वार्थको कारणले व्यवस्थाको विकल्प खोज्नुपर्नेसमेत स्वरहरु उठ्न थालेका छन् ।
चारपटक मुलुकलाई कार्यकारी प्रमुख तथा उमेरको सीमा नाघेर संसद, सडक र अन्तर्राष्ट्रिय मञ्चबाट नेतृत्व गर्नुभएका उहाँको अभिभावकत्व भूमिकाको खाचो उहाँकै पार्टी नेपाली कांग्रेस र समग्र नेपाली राजनीतिमा परेको छ ।
तर, कोइरालाले पार्टी एकलौटी तदर्थवादमा चलाउने र गुटीय व्यवस्थालाई मजबुत बनाउने काम गरेको आरोप पनि लाग्ने गरेको छ ।
कोइरालाकै कारण लौहपुरुष गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराईले कांग्रेस पार्टी परित्याग गर्नुपर्यो ।
२०५० सालमा बहुमतप्राप्त सत्तालाई टिकाउन नसकेर मध्यावधि चुनाव गराएदेखि कांग्रेस पतनको बाटोमा हिँडेको नजिर छ ।
काँखा–पाखाको संस्कृतिलाई स्थापना गर्नुभएका कोइरालाको समयबाट पार्टीमा चरम गुटबन्दीको सुरुआत भएको थियो । जसको नतिजा पार्टी विभाजनसम्मको स्थिति बन्यो ।
लाउडाकान्ड, धमिजाकान्डजस्ता भ्रष्टाचारलाई संस्थागत गरेको आरोप पनि उहाँमाथि लाग्दै आएको छ ।
जीवनको उत्तराद्र्धमा पहिलो राष्ट्रपति बन्ने लालसामा तत्कालीन माओवादीको एजेन्डामा बहकिएको आरोप पनि कोइरालामाथि लागेको छ । जसको परिणाम अहिले कांग्रेस पार्टीले भोगिरहेको ठहर गर्नेहरु पनि छन् ।
तर, कोइरालाकै पार्टी नेपाली कांग्रेसले भने उहाँको जन्मदिवस मनाउने आवश्यकतासमेत महसुस गरेन ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्