२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


ओलीले दाहालसित भएको ‘सहमति’ उल्ट्याएपछि…


0
Shares

politics

यज्ञराज पाण्डे (इमेज)

काठमाडौं, असार १८ । सत्तारुढ नेकपाभित्रको विवादले नाटकीय रुप लिएको छ ।

स्थायी समितिको बैठकमा समेत उपस्थित नहुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशन नै स्थगित गराएपछि विवादले नयाँ मोड लिएको हो ।

स्थायी समिति बैठकसमेत शनिबारसम्मका लागि स्थगित गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बिहीबार बिहान भएको समझदारीविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको जनाइएको छ ।

बिहीबार ११ बजेका लागि स्थायी समितिको बैठक बोलाइएकाले मन्त्रिपरिषद् बैठक नराखी स्थायी समिति बैठकलाई नै निरन्तरता दिने निर्णय अध्यक्षद्वयबीच भएकोमा प्रधानमन्त्री ओलीले भने मन्त्रिपरिषद्को बैठक राखेर संसद अधिवेशन स्थगित गर्ने सिफारिस गराउनुभयो ।

यसरी दाहालसँग भएको सहमति उल्टाएर एकलौटी निर्णय गर्दा प्रधानमन्त्रीको नियतमै प्रश्न खडा भएको जिकिर गर्नुहुन्छ, स्थायी समिति सदस्य नन्दकुमार प्रसाईं ।

प्रधानमन्त्री ओलीले सहमतिविपरीतको निर्णय गरेलगत्तै स्थायी समिति बैठक स्थगित गरेर प्रधानमन्त्री निवासमै सचिवालय बैठक बसेको थियो ।

सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले बिहान दाहालसँग गरेको सहमति सरकारलाई बाध्यकारी नभएको भन्दै अधिवेशन अन्त्यको निर्णय लिन सरकार स्वतन्त्र रहेको तर्क सुुनाउनुभयो । जसका कारण सचिवालय बैठक लगभग तनावग्रस्त बन्यो ।

त्यसपछि दुईटा अध्यक्षको निर्णयबाट पार्टी एकता भएको भन्दै अन्य सदस्यहरुले दुईजना बसेर सहमति खोज्न सुझाव दिए ।

तर, उक्त बैठकमा झन् समस्या देखिएपछि अध्यक्ष दाहाल हतार–हतार शीतल निवास पुग्नुभयो ।

कतै पार्टी फुटाउने गरी अध्यादेश ल्याउने तयारी त होइन ? भन्ने बुझ्न दाहाल शीतल निवास पुगेको बताइएको छ ।

राष्ट्रपतिसँगको एक घन्टाको छलफलपछि दाहालले त्यहाँ उपस्थित आफ्नो पक्षका स्थायी समिति सदस्य तथा सचिवालय सदस्यहरुसँग बैठक गरी प्रधानमन्त्री ओलीले पार्टी एकतालाई धरापमा पारेको संकेत गर्दै शुक्रबार छलफल गरी निर्णय लिइने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

तर, स्थायी समिति सदस्य केशव बडाल भने दाहाल–नेपालपक्षका स्थायी समिति सदस्य तथा सचिवालय सदस्यले पार्टीका सांगठनिक कामलाई सक्रिय बनाउनुभन्दा सधैं प्रधानमन्त्रीको खुट्टा तान्न लागिपरेकाले अब सचिवालय नै आवश्यकता नरहेको बताउनुहुन्छ ।

त्यसो त सचिवालय र स्थायी समितिमा अल्पमतमा रहेका ओलीका लागि पार्टीमा सामना गर्न हम्मे–हम्मे परेको आज दिनभरिका उनका गतिविधिले प्रष्ट पारेको छ ।

कुर्सीका लागि सबै विधि, विधान र पद्धति उल्लंघन गर्ने अभ्यासलाई ओलीले पनि निरन्तरता दिएकोमा शंका छैन ।

भिडियो हेर्नुहोस्