१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माघदेखिकै तलब नपाएको निजी विद्यालयका शिक्षकको गुनासो


0
Shares

दीपेन्द्र अधिकारी (इमेज)

काठमाडौं, असार १८ । माघ महिनामा विद्यालयहरु सञ्चालनमा थिए । चैत ११ गते लागू भएको ‘लकडाउन’पछि सबै विद्यालय बन्द भए ।

कोरोना त्रासका कारण विद्यालय नखुलेपछि वैकल्पिक माध्यमबाट पढाइरहेका संस्थागत विद्यालयका शिक्षकहरुले भने माघ महिनादेखि नै तलब प्राप्त नभएको गुनासो गरेका छन् ।

विद्यालयहरुले वैकल्पिक माध्यमबाट कक्षा लिन शिक्षकहरुलाई भनेका छन् । शिक्षकहरुले पनि सोहीबमोजिम विद्यार्थीहरुलाई कक्षा लिइरहेका छन् ।

तर, उनीहरुले लकडाउनपछिकोमात्र होइन, गत माघदेखि नै तलब नपाएको गुनासो गरेका छन् ।

करिब ५० प्रतिशत संस्थागत विद्यालयले माघदेखिकै तलब नदिएको नेपाल संस्थागत विद्यालय शिक्षक युनियन (इस्टू)का अध्यक्ष होमकुमार थापा बताउनुहुन्छ ।

लकडाउनपछि पनि वैकल्पिक माध्यमबाट कक्षा लिइरहेकाले यस अवधिको पनि नियमित तलब उपलब्ध गराउन शिक्षकहरुले माग गरेका छन् । तर, संस्थागत विद्यालय सञ्चालकहरुको साझा संस्था प्याब्सन आफ्ना सदस्य विद्यालयहरुलाई तलब भुक्तानी गर्न ‘सर्कुलर’ गरिसकेको बताउँछ ।

साढे सात हजार हाराहारीका संख्यामा रहेका संस्थागत विद्यालयहरुमा दुई लाखभन्दा बढी शिक्षक तथा कर्मचारीहरुलाई तलब दिने कुरा गफमै सीमित रहेको बताइन्छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अभिभावक, विद्यालय सञ्चालक र शिक्षक सबैसँग वार्ता भइरहेकाले छिट्टै यस विषयमा निष्कर्ष आउने आश्वासन दिएको छ ।

तर, सरकारले राहत प्याकेज नदिएसम्म शिक्षक कर्मचारीहरुको तलब भुक्तान गर्न नसकिने विद्यालय सञ्चालकहरु बताउँछन् ।

हो, विद्यालय सञ्चालन हुन नसक्दा विद्यालयहरुको आम्दानीमा समस्या सिर्जना भयो । तर, गुरुहरुलाई काम लगाएपछि माम खाने वातावरण सिर्जना गर्नुपर्छ भन्ने शिक्षा विद्यालय शिक्षकहरुलाई कसले दिने ?

भिडियो हेर्नुहोस्