२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


नेपालीको ‘प्रतिव्यक्ति आय बढ्यो’


0
Shares

काठमाडौं, असार १९ । नेपालीहरुको प्रतिव्यक्ति आम्दानी बढेको छ ।

विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदनले नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा वृद्धि भइ नेपाल निम्न मध्यम आय भएका मुलुकको सूचीमा उक्लिएको छ ।

यो वर्ष नेपालीहरुको प्रतिव्यक्ति आय १३० डलरले बढेर एक हजार ९० डलर पुगेको छ । गत वर्ष ९६० डलर रहेको थियो ।

हरेक वर्षको जुलाई १ तारिखमा विश्व बैंकले सबै देशको प्रतिव्यक्ति आम्दानीका आधारमा वर्गीकरण गर्दै आएको छ ।

विश्व बैंकले आम्दानीका आधारमा चार वर्गमा वर्गीकरण गर्दै आएको छ । यो वर्ष एक हजार ३६ डलरभन्दा कम प्रतिव्यक्ति आय भएका मुलुक न्यून आयका सूचीमा, एक हजार ३६ देखि चार हजार ४५ डलरसम्म आय भएका मुलुक निम्न मध्यम आय भएका मुलुकको सूचीमा परेका छन् ।

यसैगरी, चार हजार ४६ देखि १२ हजार ५३५ डलर प्रतिव्यक्ति आय भएका मुलुक उच्च मध्यम आय भएका मुलुकमा र यसभन्दा माथि आय हुनेहरु उच्च आय भएका मुलुकको सूचीमा पर्छन् ।

यसरी यो वर्ष नेपालसहित बेनिन, इन्डोनेसिया, मरिसस, नौरु, रोमानिया र तान्जानिया गरी सातओटा मुलुक उपल्लो सूचीमा उक्लिएका छन् भने अल्जेरिया, श्रीलंका र सुडान तीनओटा मुलुक आय घटेर तलको सूचीमा झरेका छन् ।