
प्रकाश लम्साल (इमेज)
बारा, असार १९ । बाराको जीतपुर–सिमरा उपमहानगरपालिकामा भ्रष्टाचार र अनियमितता बढेको दाबी नेपाली कांग्रेसले गरेको छ ।
विकास निर्माणको काममा भ्रष्टाचार भएको आरोप कांग्रेसबाट विजयी उपमहानगरका वडाध्यक्षहरुले लगाएका हुन् ।
शुक्रबार सिमरामा पत्रकार सम्मेलन गर्दै उनीहरुले कोरोना अस्पतालको अपारदर्शी सञ्चालन खर्च, सडक निर्माण र विकासका नाममा उपभोक्ता समिति खडा गरी संस्थागत भ्रष्टाचार भएकोलगायतका दाबी गरेका छन् ।
जिल्लाका प्रायः स्थानीय तहमा नगरसभा भइसकेको छ । तर, जीतपुर–सिमरामा विवादका कारण नगरसभा हुनसकेको छैन ।
भ्रष्टाचारको विवाद व्यापक बनेको र उपमहानगरको नेतृत्व मौन बसेको भन्दै कांग्रेस नगर कमिटीले आठबुँदे मागसमेत प्रस्तुत गरेको छ ।
पत्रकार सम्मेलनमा कांग्रेसका नगर सभापति श्यामबाबु गुप्ताले नेकपाको कार्यपालिकामा बहुमत रहेकोले नगर विकास राम्रो गर्ला भनेर हालसम्म चुपचाप बसेको बताउनुभयो ।
तर, भ्रष्टाचार र अनियमितता चरम भएको आवाज जनस्तरमै उठेको उहाँले उल्लेख गर्नुभयो । अब आफूहरु चुप लागेर नबस्ने उहाँको भनाइ थियो ।
आठबुँदे ज्ञापनपत्रमा उपमहानगरको हालसम्मको आय–व्यय सार्वजनिक गर्नुपर्ने, वैज्ञानिक आधार र मापदन्डअनुसार वडागत बजेट विनियोजन गर्नुपर्नेलगायतका माग गरिएको छ ।
पत्रकार सम्मेलनअघि नगर सभापति गुप्तासहितको टोलीले जीतपुर–सिमरा उपमहानगरका प्रमुख कृष्ण पौडेललाई चार पृष्ठको ज्ञापनपत्र बुझाएको थियो ।
जीतपुर–सिमरा उपमहानगर मुलुककै सम्पन्नमध्ये एक स्थानीय तहमा पर्दछ ।
प्रतिक्रिया दिनुहोस्