
काठमाडौं, असार १९ । सरकारले पर्यटन क्षेत्र सञ्चालनसम्बन्धी मापदन्ड तयार गरे पर्यटन व्यवसायीहरुले मापदण्ड पालना गरी सेवा सुरु गर्न तयार रहेको जनाएका छन् ।
चन्द्रागिरि हिल्स प्रालिले सरकारले यससम्बन्धी आवश्यक मापदन्ड तयार गरे आफूहरु उक्त मापदन्ड पालना गरी केबलकार खोल्न तयार रहेको जनाएको हो ।
कोरोना त्राससँगै विगत तीन महिनादेखि बन्द चन्द्रागिरि केबलकारले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै होटल र केबलकार खोल्न तयार रहेको बताएको हो ।
चन्द्रगिरि हिल्सका संस्थापक अध्यक्ष एवं सञ्चालक हेमराज ढकालले सरकार र विश्व स्वास्थ्य संगठनको मापदन्ड पालना गरी पूर्ण स्वास्थ्य सतर्कतालाई अपनाइ आफूहरु चन्द्रागिरि केबलकार तथा होटल खोल्न तयार रहेको बताउनुभयो ।
सुरक्षा मापदन्ड पालना गरी आफूहरुले ५० प्रतिशत क्षमतामा होटल खोल्नसक्ने उहाँले बताउनुभयो ।
कम्पनीका महाप्रबन्धक अभिषेकविक्रम शाहले कम्पनी सरकारको अनुमतिको पर्खाइमा रहेको भन्दै सरकारले अनुमति दिएमा तत्कालै सेवा सुरु गर्न तयार रहेको जानकारी गराउनुभयो ।
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेजसहित सञ्चालन गर्ने तयारी गरिरहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्