
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् ।
काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रतिदिन चुक्दै गएका छन् । बोली र व्यवहारमा देखिएको भिन्नताले उनको कार्यशैली र क्षमतामाथि नै प्रश्नचिन्ह खडा भएको छ ।
पछिल्ला दिनमा नेपालमा दिन प्रतिदिन कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । शुक्रबार मात्रै ७ सय ४० संक्रमित थपिएका छन् । एकै दिन यति धेरै संख्यामा संक्रमित थपिएको यो नै पहिलो हो ।
तर, मन्त्री ढकालले नेतृत्व गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म पनि कोरोना रोकथाम र व्यवस्थापनका सन्दर्भमा दीर्घकालीन योजना नबनाएको पाइएको छ ।
संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गए पनि मन्त्रालयले निर्देशिकाबाहेक दीर्घकालीन ठोस योजना बनाउन सकेको छैन ।
स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजना ल्याइए पनि स्वास्थ्य मन्त्रालयले पूर्णतः कार्यान्वयनमा ल्याउन सकेन । स्वास्थ्यमन्त्री ढकालले कोरोना रोकथाम र व्यवस्थापन गर्ने सन्दर्भमा गरेका अधिकांश बाचा कागजमै सीमित भएका छन् ।
उनले संक्रमितको व्यवस्थापन र रोकथामका सन्दर्भमा प्राविधिक तवरबाट ठोस कदम चाल्न नसक्दा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
मुख्यतः क्वारेन्टिन व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ र परीक्षण गति तीव्र रूपमा अघि बढाउन स्वास्थ्य मन्त्रालय चुक्दै आएको छ । राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्