काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले कुनै समन्वय नै नगरी पानी सुरुङमा हालेको खबर सार्वजनिक भएपछि सिन्धुपाल्चोकका जनप्रतिनिधिहरु रुष्ट भएका छन् । मेलम्चीको पानी सुरुङमा पठाउने बारे कुनै जानकारी जनप्रतिनिधिहरुलाई नदिएको भन्दै उनीहरु रुष्ट भएका हुन् ।
उनीहरुले आज मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा बसी छलफल गर्र्ने भएका छन् । हेलम्बु, इन्द्रावती र पाँचपोखरी गाउँपालिकाका अध्यक्ष, मेलम्ची नगरपालिकाका मेयर र जिल्ला समन्वय समितिका प्रमुखसहितको टोलीले आज छलफल गर्ने भएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख तामाङले पानी पठाउने कुरामा आफ्नो कुनै आपति नभएको तर यति महत्वपूर्ण काममा जनप्रतिनिधिहरुसँग कुनै समन्वय नहुनुले आफू आश्चर्यमा परेको बताउनुभयो ।
हिजो सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले मेलम्चीको पानी सुरुङमा पठाउने काम गर्नुभएको थियो भने त्यसको जानकारी मेलम्ची खानेपानी आयोजनाले काठमाडौंबाट पत्रकार सम्मेलन गरी दिएको थियो ।
खानेपानी तथा सरसफाई मन्त्री विना मगरले उक्त कुराको जानकारी दिँदै ठूलो उपलब्धि भएको पत्रकार सम्मेलनमा भन्नुभएको थियो । यसबारे सिन्धुपाल्चोकका जनप्रतिनिधिलाई कुनैपनि जानकारी थिएन् ।
हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची खानेपानी आयोजना र गाउँपालिकाको कार्यालय तीन किलोमिटर मात्रैको दूरीमा छ । हेलम्बुका अध्यक्ष निमाग्याल्जेन शेर्पाले पनि सुरुङमा पानी हाल्ने विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।
प्रतिक्रिया दिनुहोस्