२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


‘चीनको पनि विस्तारवादी छवि उजागर’


0
Shares

यज्ञराज पाण्डे (इमेज)

काठमाडौं, असार २२ । सत्तारुढ दल नेपाल कम्युस्टि पार्टी (नेकपा)भित्र शक्ति संघर्षका लागि विवाद चर्किरहँदा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरुसँग भेटघाट बढाउनुभएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग आइतबार साँझ चिनियाँ राजदूतले गरेको भेटले नेकपाभित्रको विवादमा फेरि पनि चीनले सक्रियता बढाएको त हैन ? भन्ने चर्चा चलेको छ ।

नेपालको आन्तरिक विवाद नेपालीहरूले नै मिलाउनुपर्छ भन्ने अभिव्यक्ति बारम्बार दिँदै आएको चीनले २०६२/२०६३ सालको आन्दोलनसम्म पनि खुलेर नेपालको राजनीतिमा हात हालेको देखिँदैन ।

तर, चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को महत्वाकांक्षी योजना अघि सारेर दक्षिण एसियामा आफ्नो प्रभाव बढाउने रणनीति अवलम्बन गरेपछि भने नेपालको आन्तरिक मामलामा आफ्नो प्रभाव क्रमशः बढाउँदै लगेको देखिन्छ । यसको पछिल्लो उदाहरण चिनियाँ राजदूतको दौडधुपलाई लिन सकिन्छ ।

यसअघि, नेकपामा विवाद हुँदा राजदूत होउले वैशाख १९ गते पुष्पकमल दाहाल र नेपालसँग उहाँहरुकै निवासमा छुट्टा–छुट्टै भेटवार्ता गर्नुभएको थियो ।

यसपटक पनि प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्र घेराबन्दीमा परेका बेला चिनियाँ राजदूतको सक्रियता देखिएको छ ।

विगतमा भारतको चलखेल र हस्तक्षेपमा नेपालमा सरकार परिवर्तन हुन्छ र चीनले हस्तक्षेप गर्दैन भन्ने ‘डिसकोर्स’लाई मोडेर अब चीनको पनि विस्तारवादी छवि उजागर भएको दाबी गर्नुहुन्छ, परराष्ट्र मामलाका जानकार डा. उद्धव प्याकुरेल ।

त्यसो त नेपालको कूटनीतिक मर्यादामा पूर्वप्रधानमन्त्री एवं विशिष्ट व्यक्तिहरुले परराष्ट्र मन्त्रालयलाई जानकारी नै नदिइ विदेशी प्रतिनिधि तथा राजदूतलाई भेट्न नमिल्ने ‘प्रोटोकल’ नै बनाइएको छ ।

पूर्वप्रधानमन्त्री नेपालको चिनियाँ राजदूतसँगको भेटले एकातिर प्रोटोकलकै उल्लंघन गरेको छ भने अर्कातिर भेटका एजेन्डालाई पारदर्शी नबनाउनुले स्वयं नेतृत्व तहले नै कूटनीतिक मर्यादाको बेवास्ता गरेको आरोप लगाउनुहुन्छ, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य डा. दीपकप्रकाश भट्ट ।

२०७२ सालको संविधान जारी गर्नुअघि नेपालमा भारतीय राजदूतको सक्रियता अत्यधिक हुने गर्दथ्यो । पार्टीका नेताहरुको घर–घरमै गएर भेटवार्ता चल्ने गर्थ्यो ।

अहिले भने यही शैलीलाई नेपालस्थित चिनियाँ राजदूतले पछ्याउन थालेको चर्चा हुन थालेको छ, सत्तारुढ नेकपाको विवादको सन्दर्भमा ।

नेकपाभित्र आन्तरिक रस्साकस्सी चलिरहँदा बढेको चीनको चासोले भने स्वाभाविकरुपमा विभिन्न आशंकाहरु जन्माएको छ ।

भिडियो हेर्नुहोस्