काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धार्मिक र पवित्र स्थलको अनुभूति हुने गरी पशुपति क्षेत्रको सौन्दर्यता विकास गरिने बताउनुभएको छ ।
नेपाल एसबीआई बैंकको लगानीमा निर्माण भएको पशुपति मन्दिरको दक्षिण द्वारको उद्घाटन गर्दै मन्त्री भट्टराईले पशुपति क्षेत्रको सुन्दरतामार्फत भक्तजनहरुलाई धार्मिक र पवित्र तीर्थस्थलमा प्रवेश गरेको अनुभूति दिने गरी पशुपति क्षेत्रको विकास गर्न लागिएको बताउनुभयो ।
पशुपति क्षेत्रको समग्र विकासका लागि गुरु योजना तयार पारिएको र मन्त्रिपरिषद्बाट पारित भएपछि संरचना निर्माणका कार्यहरुले गति लिने उहाँको भनाइ छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्र कस्तो बन्ने भन्ने विषयमा गुरुयोजना तयार भइसकेको र सोही अनुसार नै यसको सौन्दर्यता कायम गरिने बताउनुभयो ।
उहाँले विश्वमा नै हिन्दुहरुको प्रमुख तीर्थस्थलको केन्द्र र पर्यटकहरुका लागि आकर्षणको केन्द्रका रुपमा पशुपति क्षेत्रलाई विकास गरिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागरले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पवित्र धार्मिक स्थलको प्रवेश द्वार निर्माण गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
बैंकले पशुपति क्षेत्रको दक्षिण तर्फको प्रवेश द्वार, जुत्ता राख्ने घर, एटिएम घर लगायतका संरचना निर्माण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्