२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बझाङमा पहिरोपीडितको बिचल्ली, गाउँ नै जोखिममा, चारैतिर खोला, भाग्ने बाटोसमेत छैन


26
Shares

डिबी बिष्ट (इमेज)

बझाङ, असार २३ । बझाङको मल्लेसी गाउँमा पहिरोमा परी ज्यान गुमाउनेका परिवार बिचल्लीमा परेका छन् । गाउँ नै पहिरोले सखाप बनाएपछि विस्थापितहरुले हारगुहार गरिरहेका छन् ।

उद्धार र राहतको पर्खाइमा रहेका पीडितहरुको सुनुवाइ हुनसकेको छैन । आफन्त गुमाउनुपर्दाको पीडा भुल्न नसक्दा गाउँमा सन्नाटा छाएको छ ।

असार १९ गते राति बझाङको मल्लेसी गाउँमा पहिरो जाँदा छजनाको मृत्यु भयो । २० वर्षीय गिरीजा जेठारा अझै बेपत्ता छन् ।

रातिको समयमा एक्कासि पहिरोले गाउँ बगाउँदा सुतेकै अवस्थामा उनीहरु पहिरोको सिकार भए ।

पहिरोको कारण मल्लेसी गाउँका २० घर पूर्णरुपमा विस्थापित भएका छन् भने अन्नपात, लत्ताकपडा र पशु–चौपयासमेतलाई पहिरोले बगाउँदा उनीहरु समस्यामा परेका छन् ।

पहिरो जानेक्रम नरोकिँदा गाउँ नै जोखिममा परेको छ । कहाँ बस्ने र के खाने भन्ने चिन्ताले पिरोलेको छ, उनीहरुलाई ।

मर्ने मरेर गएपनि बाँच्नेलाई ज्यान जोगाउन हम्मे–हम्मे पर्दै आएको छ ।

बस्नलाई बस्ने ठाउँ छैन भने भाग्नलाई पनि बाटो छैन । चारैतिरका खोला उर्लिएपछि भाग्ने नाका पूर्णरुपमा बन्द हुँदा विलखबन्दमा परेका छन्, उनीहरु ।

सरकार छ तर उनीहरुले सरकारको अनुभूति पाउनसकेका छैनन् । गड्याङ–गुडुङले र दर्कंदो झरीका कारण न दिन न रात निन्द्राको त के कुरा, फेरि पहिरो आउल भन्ने पिरलोले पिरोलिएका छन्, उनीहरु ।

गाउँमा रहेको झन्डै १५ रोपनी खेतीयोग्य जमिनसमेत पहिरोले बगाएको छ । ६५ परिवार बसोबास गर्ने मल्लेसी गाउँ शोकमग्न छ ।

घर पहिरोले पुरेपछि गाउँनजिकैको स्कुलमा र त्रिपालमा आश्रय लिइरहेका छन्, उनीहरुले । पहिरोले सबै बगाएपछि गाउँमा अन्नपात र खानेपानीकोसमेत हाहाकार भएको छ ।

गाउँ जोड्ने पुलसमेत जोखिमपूर्ण भएको छ भने बाटो पहिरोले पुरेका कारण अहिलेसम्म पहिरोपीडित गाउँमा राहत लिएर कोही पुग्नसकेको छैन ।

त्यसैलेपनि बझाङको मल्लेसी गाउँका पहिरोपीडितको हारगुहारलाई बेलैमा सुन्नु जरुरी छ ।

भिडियो हेर्नुहोस्