१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


एन्फाको आपत्कालीन बैठक स्थगित, वरिष्ठ उपाध्यक्ष नेम्वाङ अनुपस्थित


169
Shares

काठमाडौं, असार १ । अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने भएको छ ।

सोमबार (आज)का लागि डाकिएको आपत्कालीन बैठकमा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ उपस्थित नभएपछि मंगलबार केन्द्रीय कार्यसमितिको बैठक डाकिएको हो ।

आपत्कालीन बैठकमा शतप्रतिशत सदस्यको उपस्थिति अनिवार्य गरिएकामा नेम्वाङ उपस्थित नभएपछि आपत्कालीन बैठक नै स्थगित भएको थियो ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले आपत्कालीन बैठक स्थगित हुन पुगेकाले विधानअनुसार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको बताए ।

बैठक मंगलबार दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा बस्नेछ ।

‘लकडाउन’का कारण लामो समयदेखि बन्द रहेको एन्फामा सामाजिक दूरी कायम गरेर बैठकको तयारी गरिएको हो ।

बैठकका लागि चारओटा मुख्य एजेन्डा तय गरिएको छ । जसमा टासी घलेलाई एन्फाको मानार्थ अध्यक्षमा फर्काउने, कोरोनाभाइरसका कारण उत्पन्न परिस्थितिमा एन्फाले दिनसक्ने सहयोग तथा एन्फाको विरोध गरिरहेका जिल्ला फुटबल संघहरुमाथिको कारबाहीको विषयलगायत रहेका छन् ।