प्रज्ञा तिमल्सिना र विशाल लामा (इमेज)
काठमाडौं, असार २५ । पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारी अस्पताल संक्रमितले भरिएका छन् । यो संख्या दिनहुँ बढ्दै गए उपचारमा नै समस्या आउने देखिएको छ ।
सरकारले ‘लकडाउन’को समय अवधिभर स्वास्थ्य संरचना बढाउन बेवास्ता गर्दा उपत्यकामा नै संक्रमितले उपचार नपाउने अवस्था देखिएको हो ।
कोभिड बिरामीको उपचार गर्न सरकारले काठमाडौं उपत्यकामा छुट्याएको चार अस्पतालमा ७१ ओटा आईसीयु कक्ष रहेका छन् । जसमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २०, पाटन अस्पतालमा २१, बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा २० र त्रिवि शिक्षण अस्पतालमा १० ओटा कक्ष रहेको छ ।
यो संख्या दिनहुँ उपत्यकामा बढेको संक्रमितको संख्याको तुलनामा निकै कम हो । ती कक्ष पनि हाल संक्रमितले भरिएका छन् ।
विज्ञहरु कुल संक्रमितमध्ये ५ प्रतिशत गम्भीर बिरामी हुने र उनीहरुलाई आईसीयुमा राखेर उपचार गर्नुपर्ने र त्यसमध्ये पनि २ प्रतिशतलाई त भेन्टिलेटरमा नै राखेर उपचार गर्नुपर्ने अवस्था आउने बताउँदै आएका छन् ।
स्वास्थ्य मन्त्रालय भने कोरोनाभाइरसका सबै बिरामीलाई अस्पताल भर्ना गर्नुनपर्ने र ‘क्रिटिकल केयर’ नचाहिने दाबी गर्दै आएको छ ।
के सरकारले भनेजस्तै कोभिडका बिरामीलाई आईसीयु कक्ष चाहिँदैन त ?
यसबारे हामीले त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर युनिटका प्रमुख डा. सुभास आचार्यलाई सोधेका थियौं ।
डा. आचार्य भन्नुहुन्छ–‘कोभिडका सबै बिरामीलाई आईसीयु कक्ष आवश्यक पर्दैन । तर, अन्य रोग लागेका र कोरोना संक्रमण पनि भएका बिरामीलाई भने आवश्यक पर्छ ।’
नेपालमा दीर्घरोगीहरु झन्डै ११ लाख रहेका छन् । त्यसको १ प्रतिशत व्यक्तिमा मात्र पनि संक्रमण भयो भने हालकोे स्वास्थ्य संरचनाले धान्ने अवस्था देखिँदैन ।
हाल १६ हजार संक्रमित हुँदा ३५ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमध्ये धेरै दीर्घरोगी रहेका छन् । संक्रमण दीर्घरोगी र ज्येष्ठ नागरिकसम्म पुग्यो भने धेरैलाई क्रिटिकल केयरको आवश्यकता पर्छ ।
डा. आचार्य स्वास्थ्य मन्त्रालयले सात हजार व्यक्तिहरु निको भए भन्दैमा हालको स्वास्थ्य संरचना राम्रो छ भन्न नमिल्ने बताउनुहुन्छ ।
कोभिडका बिरामीलाई राखिने आइसोलेसन कक्ष र आईसीयु कक्षबीच पनि धेरै भिन्नता हुन्छ । आइसोलेसनमा बिरामीलाई कुनैपनि रोग नभएको र कुनै स्वास्थ्य सहयोग नचाहिने तर अरुमा संक्रमण नफैलियोस् भनेर राख्ने गरिन्छ । तर, शरीरका अंगलाई सहयोग चाहिने अवस्था आए आईसीयुमा राखिन्छ ।
स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्था आए निजी अस्पतालहरुसँग पनि सहकार्य गर्न डा. आचार्य सुझाव दिनुहुन्छ ।
हाल निजी अस्पतालहरुमा भन्डै ५० ओटा आईसीयु कक्ष रहेका छन् । काठमाडौंमा फैलँदो संक्रमण हेर्दा आगामी दिन काठमाडौंका लागि थप चुनौतीपूर्ण हुने देखिन्छ ।
जसमा सरकारले समयमै आवश्यक चासो नदेखाउँदा यसले थप जोखिम बढाउने देखाएको छ । यसमा सरकारी निकाय सबैको समयमा नै ध्यान जान आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्