१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


विपद्को स्थानीय तहमा छैन तयारी, बारा ‘विपद्को उच्च जोखिममा’


0
Shares

प्रकाश लम्साल (इमेज)

बारा, असार २५ । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन प्रदेश नम्बर–२ मा यो वर्षकै सबैभन्दा बढी पानी पर्ने पूर्वानुमान गर्दै सचेत रहन आग्रह गरेको छ ।

तर, बाराका १६ स्थानीय तहले विपद् व्यवस्थापनको पूर्वतयारी गरेका छैनन् ।

केही स्थानमा मोबाइलबाट सतर्क रहन भनिएपनि धेरै स्थानमा सचेत रहन सूचनासम्म जारी गरिएको छैन ।

आउँदो तीन दिन केही नदीहरुमा पानीको बहाब बढेर खतराको तहसम्म पुग्ने अनुमान छ ।

बारामा खोलामा पानीको बहाब उच्च हुँदा दर्जनौं गाउँ डुबानमा पर्ने, खोला अनियन्त्रित भइ खेतबारीमा समेत व्यापक असर गर्ने अनुमान गरिएको छ ।

बारा जिल्ला प्रदेश–२ कै विपद्को उच्च जोखिममा रहेको जिल्ला रहेको विपद् व्यवस्थापनविज्ञ रामनाथ ओझाले बताउनुभयो ।

वर्षा सुरु भएसँगै बाराका बालगंगा, दुधौरा, बकैया, पसाह खोलाको कारण बस्ती डुबानमा पर्नेदेखि मानिस बेपत्ता हुने र मृत्यु हुनेजस्ता घटना प्रत्येक वर्ष घट्ने गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

विपद् न्यूनीकरण तथा व्यवस्थापन ऐनअनुसार पूर्वतयारी तथा प्रतिकार्य योजना स्थानीय तहले वडास्तरसम्म गठन र प्रतिकार्य नगर्दा यो वर्ष पनि जोखिम बढेको हो ।

बारामा केही दिनअघि परेको चट्याङले खेतमा काम गरिरहेका चारजना महिलाको मृत्यु भएको थियो । १० जना घाइते भएका थिए । उनीहरुलाई जिल्ला विपद् व्यवस्थापन समितिले उद्धार गरेको थियो ।

सो घटनापछि नगद बोकेर जनप्रतिनिधि पीडितको घरमा पुगी फोटो खिचाएर सामाजिक सञ्जालमा छाएका थिए ।

खासगरी प्रदेश–२ का बारा, पर्सा, रौतहट जिल्लाका होचा ठाउँमा डुबानको खतरा रहेको बताइन्छ ।

जिल्लामा जिल्ला विपद् व्यवस्थापन समिति सक्रिय रहेपनि स्थानीय तह विपद् व्यवस्थापनको पूर्वतयारीमै अन्योलमा रहेका छन् ।