१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारी वर्षाको सम्भावना


13
Shares

दीपेन्द्र अधिकारी (इमेज)

काठमाडौं, असार २५ । आजदेखि चार दिनसम्म भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ।

यस वर्ष प्रिमनसुनको समयमा पनि साविककोभन्दा बढी वर्षा भएकाले मनसुनको समयमा वर्षा धेरै हुनसक्ने अनुमान छ ।

मनसुन सक्रिय भएसँगै देशभर मौसम बदली भइरहेको छ ।

यो केही दिन निरन्तर रहने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नम्बर–१, प्रदेश नम्बर–२ बढी प्रभावित हुने र वाग्मती, गण्डकी प्रदेश तथा प्रदेश नम्बर–५ मा पनि मनसुनको प्रभाव बढी रहने हुँदा सचेत रहन विभागले अनुरोध गरेको छ ।

प्रिमनसुनको समयमा पनि पानी औसतभन्दा बढी परेकाले यस वर्षको मनसुनमा वर्षा विगतको वर्षमा भन्दा अधिक हुने सम्भावना छ ।

मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकाले बदलीसँगै वर्षा भइरहेको र उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्नेक्रम सुरु भएकाले अझै केही दिन मौसमी गतिविधि बढ्ने सम्भावना रहेको छ ।

वर्षा के–कति हुन्छ भनेर त्यसको पूर्वानुमानको सूचना विभागले दिने तयारी गरेको छ भने बाढीको जोखिम रहेको स्थान तथा तल्लो तटीय क्षेत्रमा ‘अलर्ट’ जारी गर्नेसमेत विभागले जनाएको छ ।

राति तथा बिहानको समयमा वर्षा बढी हुने हुनाले सतर्क रहनका लागि समुदायस्तरमा योजना बनाउन विभागले अनुरोध गरेको छ ।

मौसम बदली हुँदा देशका केही स्थानमा मेघगर्जन/चट्याङसहितको वर्षा हुनाका साथै मध्य तथा पूर्वी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले पहिरो गएर सडक र हवाई यातायातमा सामान्य अवरोध आउनसक्ने हुँदा सतर्कता अपाउन पनि विभागले आग्रह गरेको छ ।

नेपालमा सामान्यतया जुन १० तारिखबाट मनसुन सक्रिय हुने भएपनि यस वर्ष दुई दिन ढिला गरी मनसुन सक्रिय भएको छ ।

कतिपय अवस्थामा मौसमको पूर्वानुमानको सूचनालाई पछ्याउँदै जोखिम न्यूनीकरण गर्न योजना बनाए यसबाट हुने क्षतिलाई कम गर्न सकिन्छ ।

भिडियो हेर्नुहोस्