खिलनाथ ताजपुरिया र देवेन्द्र महर्जन (इमेज)
काठमाडौं, असार २५ । सिन्धुपाल्चोकमा बाढी–पहिरोबाट जनधनको क्षति भएसँगै विपद् व्यवस्थापनप्रति सरकारको तयारी के–कस्तो छ भन्ने जिज्ञासा बढेको छ ।
वर्षायाम सुरु भएसँगै विपद्हरु बढ्ने देखिएपनि सरकारले जोखिम न्यूनीकरण र व्यवस्थापनको पर्याप्त तयारी गरेको देखिँदैन ।
मनसुन सुरु भएसँगै बाढी–पहिरो र डुबानको त्रास बढेको छ ।
बाढी–पहिरोबाट हुनसक्ने जोखिम रोक्न सरकार चनाखो रहेको भए त्यति धेरै त्रास हुने थिएन ।
तर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पहुँच स्थानीय तहसम्म नहुँदा विपद् न्यूनीकरण प्रभावकारी नहुने देखिएको छ ।
प्राधिकरणको भनाइलाई पत्याउने हो भने सम्भावित बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरणमा सरकार यसपटक पनि चुक्ने देखिन्छ ।
सरकार स्वयंले यो मनसुनमा ३० लाख विपद्का घटनाहरु हुने पूर्वानुमान गरिसकेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय तहहरुमा जोखिम क्षेत्रको पहिचान गरी आवश्यक स्रोत–साधन पठाउने कार्य भइरहेको दाबी गर्न भने छोडेको छैन ।
तर, जानकारहरु यो दाबी पत्याउँदैनन् ।
यदि, सरकारी तयारी पर्याप्त हुन्थ्यो भने हरेक वर्ष विपद्बाट ठूलो मात्रामा जनधनको क्षति हुने नै थिएन ।
पछिल्ला नौ वर्षको अवधिमा बाढीलेमात्र झन्डै ८०० जनाको ज्यान लियो भने ५०० जनालाई बेपत्ता बनायो ।
यो तथ्यांकले सरकार विपद् व्यवस्थापनमा चुक्दै गएको छर्लंगै पारेको छ । यस्तो अवस्थाको अन्त्य गर्नेतर्फ सरकार गम्भीर बन्नुपर्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्