काठमाडौं, असार २५ । आलोपालो सरकार र पार्टी सञ्चालन गर्न दुवै अध्यक्षको समान भूमिका हुने सहमति गरेर एकता भएको नेकपा दुई वर्ष नपुग्दै धेरै आरोह–अवरोह पैदा भएका छन् ।
अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पद बाँडफाँटमै कुरा नमिल्दा पार्टी फुटको संघारमा पुगेको छ ।
विवाद समाधान गर्न बुधबार दुई अध्यक्षबीच भएको बैठकमा एकल अध्यक्ष बन्ने भए महाधिवेशन र प्रधानमन्त्री बन्ने भए अर्को चुनाव कुर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई प्रस्ताव गरेपछि नेकपाभित्रको रडाको झन् बल्झिएको छ ।
दुई अध्यक्षबीच सहमतिका लागि छलफल गर्न पटक–पटक स्थायी कमिटी बैठक सारिएपनि ओलीलाई शक्तिविहीन बनाउन सचिवालयका छ सदस्य एकढिक्का भएर बनेको ओलीइतर पक्षको एकसूत्रीय एजेन्डामा ओलीको पछिल्लो अभिव्यक्तिले तुसारोपात हुने लगभग निश्चित छ ।
ओलीनिकट नेताहरुको प्रतिक्रियाले भन्छ–ओलीलाई पदबाट हटाउनु भनेको नेकपाभित्र ठूलो दूर्घटना निम्तनु हो । किनभने, ओली कुनैपनि हालतमा अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्ने अवस्थामा हुनुहुन्न ।
ओलीले स्थायी कमिटी बैठक टारेर भएपनि विरोधको स्वर दबाउने रणनीति अख्तियार गरेजस्तो देखिन्छ ।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भने आवश्यकताअनुसार केन्द्रीय कमिटी बैठकमा छलफल गरेर भएपनि विवाद समाधान गर्नुपर्ने बताउनुहुन्छ ।
पटक–पटक गुटगत छलफल गरेर ओली कमजोर बनाउन अख्तियारी गरेको दाहालको रणनीतिले ‘फेल’ खाइसकेको तर्क पनि हुन थालेको छ ।
त्यही बुझेर ओलीले दाहाललाई आफूलाई कारबाही गरेर हटाउने चुनौती दिइरहनुभएको छ ।
यस्तै, आफ्नो शक्ति देखाउन ओलीले देशका विभिन्न स्थानमा कार्यकर्तालाई सडकमा उतारेर शक्ति प्रदर्शन गर्न खोजेको बुझाइ दाहाल पक्षधरको छ ।
यता, ओली पक्षधर भने झुन्ड बनाएर ‘पावर बार्गेनिङ’ गर्नु पार्टी हितअनुकूल नहुने बताउँछन् ।
पार्टी एकताले पूर्णता पाइनसकेको अवस्थामा विभिन्न बहानामा पदका लागि सौदाबाजी गर्नु उचित नहुने ओली पक्षका नेताहरुको तर्क छ ।
विवादले समाधानको बाटो नलिइरहेको अवस्थामा पार्टीको भविष्यमाथि प्रश्न उठेको छ ।
ओलीको एकलौटी अडान र इतर पक्षको पावर बार्गेनिङले नेकपा विघटनसम्मको स्थितिमा पुगेको कतिपयले आँकलन गर्न थालेका छन् । राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भने यो कुरा मान्न तयार हुनुहुन्न ।
दुईओटा कम्युनिस्ट पार्टी एक भएर जन्मिएको नेकपामा स्थापनाकालदेखि नै दुवै पार्टीका कार्यकर्ताले अपनत्व गर्ने वातावारण बनेको छैन ।
दुई अध्यक्षले आलोपालो सरकार र पार्टी सञ्चालन गर्ने सहमतिमा पार्टी एकता भएपनि अध्यक्ष ओलीले एकलौटीरुपमा पार्टी र सरकार चलाएको भन्दै दुई वर्ष नपुग्दै पटक–पटक किचलो भएको छ ।
शीर्ष तहमै पद बाँडफाँटमा देखिएको विवादले आठ लाख पार्टी सदस्यहरुलेसमेत नेकपालाई अपनत्व लिइहाल्ने वातावरण अझै बनेको छैन ।
प्रतिक्रिया दिनुहोस्