१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रहरीलाई काम गर्न सकस, नारा–जुलुस र भिडको दबाब


0
Shares

दुर्गा उपाध्याय (इमेज)

कञ्चनपुर, असार २६ । आफ्नो असहमति दर्ज गराउनका लागि नारा–जुलस अचेल सामान्यजस्तै हुन थालेको छ ।

नियम–कानुनले स्पष्ट तोकेका अधिकार, कानुनसम्मतरुपमा किनारा लगाउन सकिने कतिपय विषयमा पनि नारा–जुलुसका साथ दबाब सिर्जना गर्नेक्रम बढ्दो छ ।

जसका कारण एकातिर विधिको शासन पालनामा चुनौती थपिँदै गएको छ भने अर्कातिर अनुसन्धान प्रक्रिया नै प्रभावित भइरहेको छ ।

नारा–जुलुसका लागि कुनै नीति–नियम छैन । कुनै खास घटनामा अपराधी पत्ता लागेन भनेर नारा–जुलुस हुन्छ भने कहिले निर्दोषलाई पक्राउ गरियो भनेर नारा–जुलुस हुन्छ ।

जसले अनुसन्धानको प्रक्रिया नै प्रभावित हुने र अपराधी पत्ता लगाउनसमेत ढिलाइ हुने गरेको पाइन्छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा संलग्न दोषी अझै पत्ता लाग्न नसक्नु त्यसको एउटा ज्वलन्त उदाहरण हो ।

निर्मलाकान्डमात्रै होइन, पछिल्लो समय हुनेगरेका यस्ता प्रकृतिका घटनामा नारा–जुलुस, प्रदर्शन र तोडफोड नियति नै बनेको छ ।

आफूअनुकूलको परिणाम नआउँदा दलबल र शक्तिको आडमा हुने यस्ता प्रदर्शनले विधिको शासन उल्लंघनसमेत गरेको छ भने प्रहरीलाई अनुसन्धानमा अवरोधसमेत गर्ने गरेको छ ।

अपराधी पत्ता नलागेरमात्रै होइन, कहिले–काँही पक्राउ परेका व्यक्तिको रिहाइको माग गर्दैपनि प्रहरीविरुद्ध नारा–जुलुस हुने गर्दछन् ।

हालै कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई प्रहरीले नियन्त्रणमा लियो ।

यौन दुर्व्यवहारको आरोपमा स्थानीय आन्दोलित भएसँगै प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढायो ।

तर, भोलिपल्टै अर्को पक्षले उनको रिहाइका लागि दबाबस्वरुप जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयअगाडि नारा–जुलुस गर्‍यो ।

उता, महिलाअधिकारकर्मी तथा अधिवक्ता पुनम चन्द घटनालाई प्रभावित गर्ने उद्देश्यले हुने नारा–जुलस र प्रदर्शन शक्तिको दुरुपयोग भएको बताउनुहुन्छ ।

कुनैपनि घटना बाहिर आइसकेपछि त्यसबारे प्रहरीलाई निष्पक्षरुपमा अनुसन्धान गर्न नदिएसम्म पीडितले न्याय नपाउने उहाँको भनाइ छ ।

समाजमा हुने क्रियाकलाप र अपराध अनुसन्धानमा प्रहरीलाई स्वतन्त्ररुपमा काम गर्ने वातावरण बनाएर समाजले सहयोग गरे त्यसको परिणाम आउन समय नलाग्ने प्रहरीको भनाइ छ ।

अपराध अनुसन्धानमा समाजको सहयोगी भूमिका हुनुपर्दछ । तसर्थ, प्रहरीलाई स्वतन्त्ररुपमा काम गर्ने वातावरण बनाउनु समाजको पनि दायित्व हो ।

भिडियो हेर्नुहोस्