१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंका दुईसहित थप तीनजनाको मृत्यु, कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुग्यो


0
Shares

काठमाडौं, असार २७ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट थप तीनजनाको मृत्यु भएको जानकारी दिनुभएको हो ।

उहाँकाअनुसार मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१०, शंखमूलका ६० वर्षीय एक पुरुष, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ का ४५ वर्षीय एक पुरुष र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय एकजना पुरुष रहेका छन् ।

शंखमूलका पुरुषको असार २६ गते मृत्यु भएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

फोक्सोमा पानी जमेको र मिर्गौला रोगका बिरामी ती पुरुषलाई असार १६ गते पाटन अस्पतालमा भर्ना गरिएको थियो । कोरोना परीक्षणमा ‘रिपोर्ट पोजिटिभ’ आएको थियो ।

सिन्धुपाल्चोकका पुरुषको असार २५ गते मृत्यु भएको हो । क्षयरोगको उपचारका लागि असार १८ गते उनलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो । सोक्रममा परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

गोकर्णेश्वरका पुरुषको पनि असार २५ गते नै मृत्यु भएको हो । मिर्गौला रोगका बिरामी उनलाई स्वास्थ्यमा समस्या आएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समेत समस्या देखिएपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

कोरोना संक्रमतिको संख्या १६ हजार ७१९
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ७० जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको डा. गौतमले बताउनुभयो ।

पछिल्लो २४ घन्टामा ४३१ जना कोरोनामुक्त भइ विभिन्न अस्पतालबाट ‘डिस्चार्ज’ भएका उहाँले जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या आठ हजार ४४२ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा तीन हजार ६४८ जनाकोमात्र ‘पीसीआर’ परीक्षण भएको जनाइएको छ ।

हाल देशभर २४ हजार ९७ जना ‘क्वारेन्टिन’मा रहेका छन् । आठ हजार २३९ जना ‘आइसोलेसन’मा रहेका छन् ।

भिडियो हेर्नुहोस्

https://www.facebook.com/mohpnep/videos/569985773684859/?__tn__=%2CdkC-R&eid=ARDjpFJ0GSQ6J2DTqoPsBOIK8-7hc_49RT3ifsh0nL2VEt4HuATBvJoqun8KsMv0Txjjnvf2RGpI4vkE&hc_ref=ART2Ddtm4e6Ib5xFrJrFLueJp9CbqZMMUAnSI5zauD9mnndX0-7eKHtxSLtu-Mx_aWA