काठमाडौं, असार २७ । विश्वव्यापी महामारीको रुप लिएको कोरोनाभाइरसविरुद्धको खोप तथा औषधि पत्ता नलागेको सन्दर्भमा यसबाट आफू र अरूलाई जोगाउन जनस्वास्थ्यका मापदन्ड पालना गर्न सरकारले सबैमा अपिल गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार आयोजित कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्न आयोजित नियमित ‘प्रेस बिफ्रिङ’मा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले तोकिएको स्वास्थ्य सुरक्षाको मापदन्ड पालना गरी कोरोनालाई भयावह हुने अवस्था आउन नदिन आह्वान गर्नुभयो ।
उहाँले सबै प्रकारको जमघट तथा भेलामा कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, घरबाहिर जाँदा मास्क अनिवार्य प्रयोग गर्ने, सबै सर्वजनिकस्थल तथा कार्यलयले परिसरमा हात धुने तथा स्यानिटाइजरको अनिवार्य व्यवस्था मिलाउने र भवन प्रवेश गर्दा हात धोएको वा स्यानिटाइजर प्रयोग गरेको सुनिश्चित गर्न आग्रह गर्नुभयो ।
प्रत्येक दिन कार्य प्रारम्भभन्दा पहिला अनिवार्यरुपमा ज्वरो नाप्ने र १००.४ डिग्री फरेनहाइटभन्दा बढी तापक्रम भएमा काममा नलगाउने, दैनिक हाजिरी राख्ने कार्यालयले ‘फेस रिडिङ’बाट हाजिर गर्ने व्यवस्था मिलाउन तथा खोकी तथा श्वासप्रश्वास भएका व्यक्तिलाई काममा नलगाउन पनि अनुरोध गर्नुभयो ।
हात धुने बेसिन, शौचालय तथा स्नानघरबाट कोरोना संक्रमणको जोखम हुने भन्दै उहाँले दाँत माझ्नेलगायत दैनिक प्रयोगका सामग्री बेसिनमा नराख्न पनि अनुरोध गर्नुभयो ।
प्रवक्ता प्रा. डा. गौतमले धेरै प्रयोग हुने ढोका, मेसिनका ह्यान्डिल, टेबल तथा अन्य सामग्रीहरु ‘डिसइन्फेक्टेड’ गरी नियमित सफा गर्न सुझाव दिनुभयो ।
कोभिड–१९ लाई महामारीको रुप लिन नदिन आवश्यक तयारी गर्ने समय आएको उल्लेख गर्दै उहाँले सबैको सामान्य सावधानी र तयारीले कोरोना महामारी रोकथाम गर्न सहयोग पुग्ने बताउनुभयो ।
‘अहिले लिएको सामान्य सावधानीले मानव जीवनलाई जोगाउन ठूलो सहयोग पुग्दछ’–उहाँले भन्नुभयो । रासस
प्रतिक्रिया दिनुहोस्