तनहुँ, असार २७ । तनहुँमा ‘क्वारेन्टिन’मा बसेका एक वृद्धको मृत्यु भएको छ ।
भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टिनमा बसेका ६६ वर्षीय रामबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
श्रेष्ठ अकस्मात् बिरामी भएपछि उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो ।
उनी असार २३ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । मृतककोे कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
उनी दम, मधुमेह, उच्च रक्तचाप र प्यारालाइसिसको बिरामीसमेत रहेको बताइएको छ ।
यता, तनहुँमा पछिल्लो २४ घन्टामा चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै जिल्लामा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १०० जनाले कोरोना जितेका छन् ।
प्रतिक्रिया दिनुहोस्