खिलनाथ ताजपुरिया र सानु माली (इमेज)
काठमाडौं, असार २७ । मनसुन सक्रिय भएसँगै देशभर बाढी–पहिरोको असर देखिँदै गर्दा काठमाडौं उपत्यकासमेत यस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको छ ।
वर्षा सुरु भएसँगै उपत्यकाका दर्जनौं स्थान मनसुनी प्रकोपको जोखिममा रहेको सरकारी विवरण छ ।
मनसुन सुरु भएसँगै प्रत्येक वर्ष काठमाडौं उपत्यका पनि बाढी, पहिरो र डुबानको उच्च जोखिममा पर्दै आएको छ ।
विगतका वर्षहरुमा पनि उपत्यकामा खोला, खोल्सा, नदीजन्य तटीय क्षेत्रमा बाढी आउँदा जनधनको क्षति भएको थियो ।
काठमाडौंमा डुबान हुनसक्ने ३३, पहिरोको जोखिम १८, भक्तपुरमा डुबान हुनसक्ने ६, पहिरो जानसक्ने ६ र ललितपुरमा डुबान हुनसक्ने १४ बढी स्थान रहेको सुरक्षा निकायको तथ्यांक छ ।
उपत्यकामा वाग्मती, हनुमन्ते, मनोहरा, विष्णुमती, धोबीखोलालगायत खोलाहरुमा पानीको बहाव बढ्दा आसपासका बस्ती, संरचनाहरु बढी जोखिममा पर्ने गरेका हुन् ।
गत वर्षमात्रै डुबानमा परेको कलंकी, मैत्रीनगर र खसीबजार क्षेत्र यस वर्ष पनि डुबानको उच्च जोखिममा रहेको छ ।
थापाथलीस्थित पौरखीटोलका सुकुम्बासी बस्तीमा समेत मनसुन सक्रिय भएको बेला पानी घरघरमै पस्ने गरेको छ ।
यो बस्तीमा विगत १५ वर्षदेखि बस्दै आएका उनीहरुले सुरक्षित स्थानमा स्थानान्तरणको माग गर्दै आएपनि सरकारले बेवास्ता गरेको गुनासो छ ।
विपद् व्यवस्थापन न्यूनीकरणका लागि हरेक वर्ष विभिन्न योजना र पूर्वतयारी हुने गरेको छ ।
तर, प्रभावकारी कामको अभावमा डुबान क्षेत्रमा बस्दै आएकाहरु भने यस वर्ष पनि डुबानको जोखिममा छन् ।
बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरणका लागि विभिन्न पूर्वतयारी र योजनाहरु बनिरहेका हुन्छन् । यसलाई बेलैमा गम्भीरतापूर्वक कार्यान्वयनमा लगेर जनधनको ठूलो क्षति हुनबाट रोक्नेतर्फ सरोकारवालाको ध्यान जानु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्