१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेकपाको विवाद मिलाउन अध्यक्षद्वय बढी सक्रिय हुँदा पनि संशय कायमै


0
Shares

यज्ञराज पाण्डे (इमेज)

काठमाडौं, असार २७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलो उत्कर्षमा पुगेका बेला स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक विवाद नेताहरुले आपसी छलफलबाटै सुल्झाउने संकेत गर्नुभएको छ ।

तर, पार्टीमा ओलीइतरका बहुमत स्थायी कमिटी सदस्यहरुले अध्यक्षद्वयकोमात्रै सहमति आफूलाई मान्ने नहुने अडान राखेपछि विवादले अर्को रुप लिने आशंका जन्माएको छ ।

नेकपाभित्र आन्तरिक विवाद बढ्दै जाँदा मंसिर १० गतेबाट सुरु भएको स्थायी समिति बैठक एजेन्डाभन्दा बाहिर गएर प्रधानमन्त्री ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामै केन्द्रित भएपछि बैठक नै रोकेर अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच छुट्टाछुट्टै वार्ता भएका छन् ।

बहुमत स्थायी समिति सदस्यहरुको सामना गर्नुभन्दा प्रधानमन्त्री ओली रक्षात्मक बन्दै नेकपाभित्र चुलिएको विवाद आन्तरिक भएको र नेताहरुकै आपसी छलफलबाटै सुल्झाउने जिकिर गर्नुहुन्छ ।

पार्टीभित्र देखिएका विवाद समाधानको सूत्र पहिल्याउन ओली–दाहालमात्र वार्तामा जुटेपछि माधव नेपाल पक्ष भने अध्यक्षद्वयमाथि नै सशंकित बनेका छन् ।

अध्यक्षद्वयबीच गरिएका वार्ता आफूलाई मान्ने नहुने संकेत ओलीइतर समूहका सदस्यहरुले दिइसकेका छन् ।

पार्टी जनवादी केन्द्रीयतामा सञ्चालन हुने भएकाले बहुमत सदस्यको निर्णय नै पार्टी र सरकारका लागि बाध्य हुने बताउनुहुन्छ, स्थायी समिति सदस्य रघुजी पन्त ।

त्यसो त जेठ २ को आलोपालो प्रधानमन्त्री बन्ने सहमति होस् वा मंसिर ४ को दाहालले पार्टी चलाउने र ओलीले सरकार चलाउने सहमति किन नहोस्, अध्यक्षद्वयबीच गरिएका यी दुवै सहमतिको कार्यान्वयन कमजोर बन्दा नेकपाको विवाद चर्किएको हो ।

फेरि पनि कमिटी प्रणालीलाई लत्याएर अध्यक्षद्वयबीचमात्र सहमति गर्न खोजे त्यसले थप दुर्घटना निम्त्याउने चेतावनी दिनुहुन्छ, नेकपा केन्द्रीय समिति सदस्य रामचन्द्र झा ।

पछिल्लोपटक केही नेकपा नेताहरुले अध्यक्षद्वयले गरेका निर्णय आफूलाई मान्ने नहुने भन्दै केन्द्रीय कमिटीको बैठकसमेत बोलाउन धर्ना र हस्ताक्षर नै सुरु नगरेका होइनन् ।

तर, सांगठनिक नीति निर्माणमा भन्दा सरकार गिराउने र अस्थिरता पैदा गर्ने दाउमा बहुमत सदस्य तत्पर देखिएको आरोप लगाउनुहुन्छ, नेकपा स्थायी समिति सदस्य केशव बडाल ।

तर, नेकपामा पार्टी र सरकारको सम्बन्धलाई व्यवस्थापन गर्न नसकिँदा अहिलेको द्वन्द्व चर्किएको राजनीतिक विश्लेषक कृष्ण पोखरेलको टिप्पणी छ ।

विशेषतः ओली, दाहाल र नेपालबीच देखिएको शक्तिसंघर्षको विवादले स्थायी बैठक लम्बिँदा नेताहरुबीच संशय चुलिएको छ ।

ओली प्रधानमन्त्री र अध्यक्ष दुवै नछोड्ने अडानमा र दाहाल–नेपाल समूह दुवै पदबाट उहाँलाई राजीनामा गराउने पक्षमा देखिँदा नेकपाभित्रको यसपटकको रस्साकस्सी भने सजिलै साम्य हुने देखिँदैन ।

भिडियो हेर्नुहोस्