१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विदेशमा रहेका १ सय ४३ नेपालीको कोरोनाका कारण ज्यान गयो, ९२ प्रतिशत संक्रमण मुक्त


0
Shares

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीका कारण विदेशमा यो साता कुनै पनि नेपालीको मृत्यु भएन ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या र संक्रमणको दर उल्लेख्य रुपमा कमी हुदै गएको छ ।

संघका अनुसार जम्मा कोराना संक्रमित मध्य ९२ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हिजो शनिवार साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जना मध्ये २७ हजार ३ सय ६२ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अबर लगायतका देशमा रहेका नेपालीहरुमा सो साता कोरोना संक्रमण दर सामान्य रुपमा वृद्धि भएको छ ।

नेपालसहित कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउनेको संख्या १ सय ८१ पुगेको छ भने ४६ हजार ३ सय ४६ जना संक्रमित छन् ।

ती मध्ये ३५ हजार ८ सय ४ जना कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ । यसअघि गतसाता सम्म १४ देशमा संख्या १ सय ४३ जना नेपालीको विदेशमा कोरोनाका कारणले ज्यान गएको थियो ।

नेपाललगायत मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमण जारी रहेको प्रति एनआरएनए स्वास्थ्य समितिले चिन्ता व्यक्त गर्दै स्थानीय सरकारले जारी गरेका स्वास्थ्य सम्वन्धी सूचनाहरुलाई कडाईका साथ पालना गर्न समितिले आग्रह गरेको छ ।

२६ हजार ३ सय ९६ जना नेपालीको उद्दार
कोरोना संक्रमणसँगैं हालसम्म विदेशमा अलपत्र परेका २६ हजार ३ सय ९६ को उद्धार गरिएको छ ।

नेपाल सरकार, कुटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपालीको उद्धार गरेको छ ।

विभिन्न एयरलाइन्सका १ सय ४९ उडान फ्लाइटमार्फत उनीहरुको उद्दार गरिएको हो । गत जेठको मध्यदेखि सुरु उद्धार उडानमार्फत हालसम्म संयुक्त अरब एमिरेट्स युएईबाट ५ हजार ५ सय २७ सय जनाको उद्धार भएको छ ।

कुवेतमा आममाफी पाएका र अन्य अलपत्र गरी धेरै ५ हजार २ सय ४३ जनाको उद्धार गरिएको छ । यस्तै साउदी अरबबाट ४ हजार ३० जना, मलेसियाबाट ३ हजार ५३, कतारबाट २ हजार ८ सय ८४ जनाको उद्धार गरिएको हो ।

यस्तै अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४८३, म्यानमारबाट २६, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट ४७६, बंगलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, श्रीलंकाबाट ५, सिंगापुरबाट १४६, हङकङबाट ८९, बहराइनबाट ५६७, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७ र चीनबाट १०५ जनालाई स्वदेश फर्काइएको हो । शनिवार मात्रै विभिन्न मुलुकबाट १ हजार ३ सय ८१ जना स्वदेश फर्किएका छन् ।

१ सय ५७ शव ल्याइयो
यसै अवधिमा १ सय ५७ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ ।

विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ६ जनामध्ये १ सय ४६ जनाको परिवारको सहमतिमा देशमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १ सय ९ वटा शव नेपाल ल्याउन बाँकी छ ।