
काठमाडौं । काठमाडौं उपत्यकाका चारसहित ६ वटा निजी प्रयोगशालाले कोरोना भाइरसको पीसीआर विधिबाट जाँच गर्न अनुमति पाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुले मापदण्ड पुगेका काठमाडौँका ४ र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई कोभिड–१९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको हो ।
काठमाडौँ उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ केयरले अनुमति पाएको मन्त्रालयले जनाएको छ ।
उपत्यकाबाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् ।
मापदण्ड अनुसार यी प्रयोगशालाले सरकारले संकलन गरेर दिएको नमूना मात्र परीक्षण गर्न पाउनेछन् । कोरोना परीक्षण गर्न अहिले देशभर २५ वटा प्रयोगशाला सञ्चालनमा छन् ।
सरकारी तवरबाटै अझै थप केही प्रयोगशाला आउने क्रममा छन् । कोरोना महामारीकै अवस्थामा स्वीकृति पाए पनि नमूना नपाइने गुनासो निजी प्रयोगशालाहरुको छ ।
प्रतिक्रिया दिनुहोस्