१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दृष्टिविहीनको पीडा–‘पिउनेपानी किन्नसमेत पैसा छैन, गर्भवतीलाई औषधि खुवाउन पाइएन’ (भिडियो)


0
Shares

bhaktapur

दीपक श्रेष्ठ र लक्ष्मणमान डंगोल (इमेज)

भक्तपुर, असार २९ । लामो समयदेखि ‘लकडाउन’ जारी रहँदै आमनागरिकको दैनिकी खलबलिएको छ ।

ज्यालादारी गरेर दैनिकी गुजारा गर्नेमात्र नभइ दृष्टिविहीनहरु पनि लामो लकडाउनका कारण मारमा परेका छन् ।

विभिन्न सामग्री बेचेर दैनिकी गुजारा गर्ने दृष्टिविहीनलगायत शारीरिक अपांगता भएकाहरु लकडाकउनका कारण थप प्रभावित भएका छन् ।

विगतमा अगरबत्ती बेचेर दैनिक गुजारा गर्ने दृष्टिविहीनलगायत शारीरिक अपांगता भएकाहरु कोरोनाको महामारीका कारण लकडाउन सुरु भएयता समस्यामा परेका छन् ।

स्थानीय तहलगायत कुनै संघ–संस्थाले राहत तथा सहयोग नगर्दा आफूहरु मारमा परेको उनीहरुको गुनासो छ ।

लकडाउनका कारण अगरबत्ती बेच्ने काम पनि बन्द हुँदा चार महिनादेखि घरभाडासमेत बुझाउन नसकेका उनीहरु आधा पेट खाएरै गुजारा गरिरहेका छन् ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका मगरगाउँ बस्दै आएका दृष्टिविहीनहरुले लकडाउन भएलगत्तै केही राहत पाएपनि त्यसयता कष्टकर जीवन बिताइरहेका छन् ।

आफूले मत दिएर निर्वाचित गराएका जनप्रतिनिधिलेसमेत दुर्व्यवहार गरेको उनीहरुको गुनासो छ ।

लकडाउनको बेलामा सहयोग माग्दा जनप्रतिनिधिले असहयोग गरेको दृष्टिविहीन अमृता थापाको भनाइ छ ।

यस्तै पीडा चक्र नेपाली र सुनिता नेपाली दम्पत्तिको पनि छ । लकडाउनका कारण घरबाहिर निस्कने अवस्था नभएकाले पिउनेपानी किन्नसमेत पैसा नभएको उनीहरु बताउँछन् ।

अझ गर्भवती श्रीमतीलाई औषधिसमेत खुवाउन नपाएको गुनासो छ ।

कोरोना महामारी सुरु भएयता शारीरिकरुपमा अपांगता भएका धेरैको दैनिकी खलबलिएको छ ।

सडक किनारमा गीत गाएर होस् वा विभिन्न सामग्री डुलाउँदै बिक्री गर्ने उनीहरुको सम्पूर्ण काम बन्दै भएको छ ।

त्यसमाथि पर्याप्त राहत तथा सहयोग नपाउँदा शारीरिकरुपमा अपांगता भएकाहरुलाई दैनिकी चलाउन समस्या भएको छ ।

भिडियो हेर्नुहोस्