
तनहुँ, असार २९ । तनहुँमा पहिरोमा परी छजनाको मृत्यु भएको छ ।
निरन्तर परेको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरो जाँदा छजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा व्यास नगरपालिका–९ का ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थापा, २१ वर्षीया अन्जना थापा र ७० वर्षीया मैतीमाया घर्ती छन् ।
त्यस्तै, म्याग्दे गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी विक र रिसिङ गाउँपालिका–८ का ३० वर्षीय भेषबहादुर थापा रहेका छन् ।
पहिरोमा परी छजना बेपत्ता छन् । बेपत्ता हुनेहरु व्यास नगरपालिकाका २० वर्षीय राजेश थापा, ५२ वर्षीय पदमबहादुर भुजेल, रिसिङ गाउँपालिकाका नानुमाया थापा, २२ वर्षीय महावीर थापा, १९ वर्षीया मनिसरा थापा र पाँच वर्षीया अमिसा थापाको खोजी भइरहेको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो ।
पहिरोमा परी घाइते भएका व्यास नगरपालिका–९ का ५० वर्षीय केसरबहादुर थापा र रिसिङ गाउँपालिका–८ का ६० वर्षीय ज्योती थापाको पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्