
काठमाडौं । प्रसिद्ध हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतमा चर्को आलोचना गरिएको छ ।
मर्यादा पुरुष राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओली फेरी एकपटक आलोचनाको शिकार हुनुभएको हो ।
भारतीय समाचार संस्था पीटिआईले नेपालका प्रधानमन्त्रीको अभिव्यक्ति ‘राजनीतिक विवाद उक्साउने’ र ‘भारतलाई चोट पुर्याउने आश्चर्यजनक कदम’ भनेको छ ।
सत्तारुढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गर्नुभएको छ ।
अर्को भारतीय समाचार संस्था आइ.ए.एन.एस.ले लेखेको समाचारमा ओलीको भनाइलाई ‘स्तब्ध पार्ने बयान’ भनेर उल्लेख गरिएको छ ।
नेपाल भारत सम्बन्धमा उतारचढाव देखिएको बेला आएको अभिव्यक्तिलाई नेपालभित्र पनि जनताले विश्वास नगरेको दावी भारतीय मिडियाले गरेका छन् ।
एनडिटीभी डटकमले ओलीको अभिव्यक्तिले विश्वभर छरिएर रहेका रामका अनुयायीहरुलाई उत्तेजित पार्ने समाचार सम्प्रेषण गरेको छ ।
देशभित्रै कतिपयले सीमा विवादका कारण छिमेकी भारतसँगको सम्बन्ध चिसिएको बेला प्रधानमन्त्रीको पछिल्लो टिप्पणीले दुई देशको सम्बन्धमा अझ विश्वासको संकट थपेको प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्रीओलीले भानु जयन्तीको अवसरमा हिजो काठमाडौं आयोजित एक कार्यक्रममा रामायणमा वर्णन गरिएको वास्तविक आयोध्या नेपालमा पर्ने र मर्याद पुरुष राम पनि नेपालकै राजकुमार भएको जिकिर गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्