
काठमाडौं । नेपालको नयाँ नक्सा जारी गरेपछि प्रशंसा कमाइरहेका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो अभिब्यक्तिले आलोचना खेपिरहेका छन् ।
भारतले नक्कली अयोध्या खडा गरेको र भगवान् राम भारतीय पनि नभएको अभिब्यक्ति दिएपछि सामाजिक संजालमा ओलीको आलोचना मात्र भएको छैन व्यङ्ग्य समेत भइरहेको छ ।
त्रेतायुगका राम नेपालकै पर्सा जिल्लाको अयोध्यापुरीमा जन्मिएको अभिव्यक्ति दिएपछि पौराणिक विषयमा यस्तो बोल्नु ‘बेतुक’ र ‘पदीय मर्यादा विपरित’ भनेर आलोचना भइरहेको छ ।
सीमा विवादका कारण छिमेकी भारतसँगको सम्बन्ध चिसिएको बेला यस्तो टिप्पणी गर्नु दुई देशको सम्बन्ध थप चिसिने भन्दै चिन्ता समेत ब्यक्त भइरहेका छन् ।
सामाजिक संजालका नियमित प्रयोगकर्ता, लेखक, पत्रकार, विश्लेषक तथा राजनीतिज्ञहरु मध्ये ओलीको अभिब्यक्तिको समर्थन गर्ने एकदमै थोरै छन् भने बहुसंख्यकले चर्को आलोचना गरेका छन् ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्यग्ङयात्मक ट्वीट गरेका छन्–‘नयाँ रामायण श्रवण गरौं !‘, सीधै वैकुण्ठधामको यात्रा गरौं !’
कलाकार मनोज गजुरेलले ट्वीट मार्फत ब्यङ्ग्य गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो प्रकरणले नेपाल भारतबीच थप विवाद सिर्जना गर्नेतर्फ प्रधानमन्त्रीको ध्यान गएको जस्तो नदेखिएको भन्दै ट्विट गरेका छन्।
ओलीकै पूर्व प्रेस सल्लाहकार कुन्दन अर्याल आश्चर्य ब्यक्त गर्दै ‘यो के बोलेको ? कि भारतको टेलिभिजन च्यानलहरुसँग प्रतिस्पर्धा गरेको ?’ भनेर प्रश्न गरेका छन् ।
पत्रकार गजेन्द्र बुढाथोकीले ट्वीटरमा ‘आइएम विथ ओलीबा युनिभरसिटी’ ह्यासट्याग प्रयोग गर्दै लेखेका छन्,–तपाईंको गामठाउँ क्षेत्रमा भएका ‘रामपुर’उल्लेख गर्नुस्, रामको जन्म त्यहीँ हुनसक्ने सम्भावना पनि छ । उदयपुरमा–रामपुर ठोक्सिला ।’
नेकपाको विदेश विभागका उपप्रमुख विष्णु रिजालले समेत ओलीबाट ‘एकपछि अर्को’ यस्तो अभिव्यक्ति आउनु ‘रहस्यमय’ रहेको ट्विट गरेका छन्।
पत्रकार अमित ढकालले पनि ब्यंग्यसहितको ट्वीट गर्दै लेखेका छन–‘श्रीलंका टापू कोशीमा छँदैछ। छेवैमा हनुमान नगर पनि छ, वानर सेनाले पुल हाल्दा बसालेको !’
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले अङ्ग्रेजीमा ट्विट गर्दै लेखेका छन्–‘धर्म राजनीति र कूटनीतिभन्दा माथि छ। यो निकै भावनात्मक विषय हो। बेतुकका अभिव्यक्तिले लज्जित मात्र बनाउँछ। अयोध्या वीरगञ्ज नजिकै भए सरायु नदी कहाँ छ ?’
कांग्रेस नेता अर्जुन नरसिंह केसीले पनि ओलीको अभिब्यक्तिको विरोध गरेका छन् । उनले ट्वीटरमा लेखेका छन– सर्व शास्त्र पारंगत प्रकाण्ड संस्कृत,वैधिक र प्राग भु–इतिहासका ज्ञाता हाम्रा प्रमबाट भारतले नक्कली अयोध्या खडा गरेको शब्दब्रह्म प्रहार भयो।’अति रूपेण वै सीता चातिगर्वेण रावणःअतिदानाद् बलिर्बद्धो ह्यति सर्वत्र वर्जयेत्भ नेझै यस्ता गम्भीर विषयलाई उखान,टुक्का, हसि र मजाक नबनाऔं।
पत्रकार अजयबाबु शिवाकोटी र लेखक खगेन्द्र संग्रौलाले पनि ओलीको अभिब्यक्तिलाई चुनौति दिंदै टवीट गरेका छन् । शिवाकोटीले लेखेका छन–‘बुद्ध हाम्रै थिए, सीता हाम्रै छोरी, ज्वाँई रहेका भगवान रामको अयोध्या पनि अब भारतमै नभई नेपालकै ठोरीमै ल्याइहालियो । प्रम केपी ओलीज्यू अब आराध्य शिवको वासस्थान कैलाश चाहि कसरी चीनमै रहन मिल्यो ? जे भन्ने हो भन्नु, परे नक्सापनि निकाल्नु, कैलाश मानसरोवर नेपालमा जसरीनी ल्याउनु।’
रंगकर्मी घिमिरे युवराजले ट्वीट गरेका छन–‘बिषयान्तर गरेर र मान्छेहरूको ध्यान उट्पट्याङ गफमा मोडेर राजनीति गर्न खप्पिस ओलीजीको ठट्टामा नरमाऊँ । त्यसको मूल्य हाम्लाई निक्कै महंगो पर्नेछ । परिरहेछ ।’

प्रतिक्रिया दिनुहोस्