
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्रीले अयोध्याको बारेमा अप्रमाणित, विवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कुटनीति खल्बल्याउँने काम गरेको बताउनुभएको छ ।
आज सामाजिक सञ्जालमा लेख्दै डा. कोइरालाले प्रधानमन्त्री ओलीले नेपाली र भारतीय जनताबीचको आपसी धार्मिक र सांस्कृतिक सम्बन्ध बिगार्ने काम गरेका बताउनुभएको हो ।
उहाँले लेख्नुभएको छ, ‘जसरी गौतम बुद्ध र लुम्बिनीका बारेमा हामी कसैसँग सम्झौता गर्न सक्दैनौं त्यसैगरी भारतीयहरु मर्यादा पुरुष भगवान श्रीराम र अयोध्याका बिषयमा केही कुरा सुन्न चाहँदैनन्।’
डा. कोइरालाले अयोध्या भारत लगायत सम्पूर्ण हिन्दुहरुको आस्थाको केन्द्र भएकाले धर्म र आस्थालाई राजनीति तथा कुटनीतिको हतियार बनाएर सत्ताको मलजल गर्नु कदापि नहुने बताउनुभयो।
सोमबार प्रधानमन्त्री केपी ओलीले रामको जन्मस्थान अयोध्या नेपालमै रहेको र यो चितवननजिक ठोरीमा रहेको बताउनुभएको थियो । उहाँले भारतले नक्कली अयोध्या खडा गरेको आरोपसमेत लगाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्