
विनोदसिंह विष्ट (इमेज)
बैतडी, असार ३० । बैतडी प्रहरीले सार्वजनिकस्थलमा मास्क नलगाइ हिँड्नेलाई कारबाही गरेको छ ।
मास्क नलगाउनेलाई नियन्त्रणमा लिनुका साथै जरिवानासमेत तिराउने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यही असार २२ गतेदेखि हालसम्म दुई हजार १४० जनालाई कारबाही गरिएको बैतडीका प्रहरी प्रवक्ता गौरीप्रसाद जैसीले जानकारी दिनुभयो ।
बजारक्षेत्रमा बिनामास्क निस्केका २२ जनालाई जनही १०० रुपैयाँ जरिवानासमेत तिराइएको उहाँले बताउनुभयो ।
नियन्त्रणमा लिएका अधिकांशलाई मास्क अनिवार्य लगाउनुपर्ने विषयमा सम्झाइ–बुझाइ छाडिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।
प्रहरीले ३५ जनालाई मास्कसमेत वितरण गरेको जनाएको छ ।
गृह मन्त्रालयले असार २२ गते मास्क नलगाइ घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ ओटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।
स्थानीय प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदन्डअनुसार सामाजिक दूरी कायम नगर्ने र मास्कबिना बाहिर हिँड्डुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐनअनुसार कारबाही गर्न निर्देशन दिएको हो ।
मास्क नलगाइ हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्नेगरी परिपत्र भएअनुसार कारबाही गर्नेक्रम जारी रहेको बैतडीका प्रमुख जिल्ल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।
‘लकडाउन’लाई स्वास्थ्य मापदन्ड पालना गर्दै खुकुलो बनाउने नीति अवलम्बन गरिएपनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघ–संस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन गृहले निर्देशन दिएको थियोे ।
कोरोनाभाइरसको संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन अनिवार्य मास्क लगाएर हिँड्डुल गर्न तथा सामाजिक दूरी कायम गर्नका लागि आग्रह गरिएको छ ।
सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो । त्यसयता सडक, बजार, कलकारखानामा मास्क, स्यानिटाइजर प्रयोग र सामाजिक दूरी पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्