१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सोती घटना छानबिन संसदीय विशेष समितिले बुझायो प्रतिवेदन


0
Shares

rukum jajarkot

काठमाडौं, असार ३० । रुकुम पश्चिमको सोती घटना छानबिन संसदीय विशेष समितिले आफ्नो प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको छ ।

छानबिन समितिले मंगलबार दिउँसो सिंहदरबारमा सभामुख सापकोटालाई प्रतिवेदन बुझाएको हो ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीमा भएको हत्याकान्डबारे अध्ययन गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय विशेष समिति गठन गरिएको थियो ।

प्रतिनिधिसभाको गएको जेठ २६ गतेको बैठकले समिति गठन गर्दै घटनाको अध्ययन–अनुगमन गरी प्रतिवेदन पेस गर्न कार्यादेश दिएको थियो ।

समितिले कार्यप्रारम्भ भएको मितिले एक महिनाभित्र प्रतिवेदन तयार गरी बुझाएको सभामुखको सचिवालयले जनाएको छ ।

अन्तरजातीय विवाहसँग जोडिएको उक्त घटनामा जेठ १० गते जाजरकोटका नवराज विकसहित छजना मारिएका थिए ।

नवराजको सोतीकी एक किशोरीसित प्रेमसम्बन्ध भएको र आफ्नी प्रेमिकालाई लिन भनी गएका नवराजसहित १९ युवामध्ये छजनालाई मारेर भेरी नदीमा फालिएको दाबी केटापक्षको थियो ।

घटनामा संलग्न भएको आरोपमा सोतीका वडाध्यक्षसहित ३४ जनाभन्दा बढी स्थानीयलाई प्रतिवादी बनाइ कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।

घटनाको सर्वत्र आलोचना हुनेक्रममा सांसदहरुले संसदीय छानबिनको माग गरेपछि छानबिन समिति बनाइएको थियो ।